कल्पनाशीलता, प्रकृतिप्रेम, प्रकृतिमा परमसत्ता र दैवी आनन्दको खोजी, प्रकृतिको मानवीकरण, प्रकृतिमा युगको पीडा र वेदनाको प्रविष्टि, प्रकृतिमा शान्ति र मुक्ति, प्रेमभावको प्रस्तुति, राष्ट्रिय भावना, विद्रोही स्वर आदि प्रकृतिवादी स्वच्छन्दतावादी कवितामा हुने गुण मिश्रका कवितामा मुखरित भएका छन् ।
नेपाली काव्य साहित्यमा शीर्षस्थ व्यक्तित्वमध्येका एक मानिन्छन्– कवि युद्धप्रसाद मिश्र । काव्यसाधनाको पहिलो चरणमा कवि मिश्रले हिन्दु आध्यात्मिक चिन्तनधाराबाट प्रभावित केही कविता लेखे पनि मूलतः उनले प्रकृतिवादी स्वच्छन्दतावादी कविता नै रचना गरे यस समयमा ।
आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठकै पङ्क्तिमा उभ्याउन सक्ने स्तरका प्रकृतिवादी स्वच्छन्दतावादी कविता सिर्जना गरे उनले । हृषिकेश उपाध्याय, तारानाथ शर्मा, कृष्णचन्द्र सिंह प्रधान, वासुदेव त्रिपाठी, रविलाल अधिकारी, मोहनराज शर्माजस्ता वरिष्ठ नेपाली समालोचकले कवि मिश्रका प्रकृतिवादी स्वच्छन्दतावादी भावका कवितालाई मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
कल्पनाशीलता, प्रकृतिप्रेम, प्रकृतिमा परमसत्ता र दैवी आनन्दको खोजी, प्रकृतिको मानवीकरण, प्रकृतिमा युगको पीडा र वेदनाको प्रविष्टि, प्रकृतिमा शान्ति र मुक्ति, प्रेमभावको प्रस्तुति, राष्ट्रिय भावना, विद्रोही स्वर आदि प्रकृतिवादी स्वच्छन्दतावादी कवितामा हुने गुण मिश्रका कवितामा मुखरित भएका छन् । त्यसैले उनलाई उच्चकोटिका प्रकृतिवादी स्वच्छन्दतावादी कवि मानिन्छ । कवितामा लयात्मकताको प्रयोग मिश्रको उत्कृष्ट विशेषता हो ।
नेपाली स्वच्छन्दतावादी कवितामा लयात्मकता र गीतिमयतायुक्त लेखन शैलीको चर्चा गर्दै तारानाथ शर्मा यो काव्यशैली लक्ष्मीप्रसाद देवकोटासित सुसेला खेल्दै युद्धप्रसादसित नाच्न पुगेको छ भन्ने धारणा व्यक्त गर्छन् । त्यस्तै मोहनराज शर्मा कवि मिश्रमा चित्रात्मक शैलीमा प्रकृतिको रूप उतार्ने स्वच्छन्दतावादी कलात्मक अभिव्यञ्जना गर्ने विशिष्ठ क्षमता भएको ठान्छन् । प्रकृतिवादी स्वच्छन्दतावादी कवि मिश्रको यी कविताङ्शलाई उनको उल्लिखित लेखन शैलीको उदाहरणका रूपमा हेर्न सकिन्छ:
१) नयन तीन दुई, सर सुन्दर
तर लताप्रिय मारुकता सँग
कति मनोहर सिम्सिम वारिष
चच गरी उर उड्छ चरासित । (वनसित)
२) निर्मल जलको पतला सारी
टलपल टलपल सर्र लतारी
कोमल झ्याउ पत्थर हरिला
सज्जित जलको चोली हिला (चरखण्डीको खोँच)
मिश्रले प्रकृतिवादी स्वच्छन्दतावादी भावधाराका चरखण्डीको खोँच, जाबीको चरा, चराको बोल, सूर्यघाट, व्याध गान १; २, हृदय पन्छी, वनकालीमा, वनसित, उषाकालको पन्छी, धोबिनीको सङ्गीत, सीम बक्कुल्लो, चरीको चचचच, कोकिल गान, पागल १; २, जलन १; २; ३; ४, कवि १; २, सुन्दर कन्ठी चरो आदि कविता लेखे ।
काव्य साधनाको प्रारम्भमा हिन्दु आध्यात्मिक चिन्तनबाट लेखन प्रारम्भ गरेका कवि मिश्र प्रकृतिवादी स्वच्छन्दवादी कविता सिर्जनामा आइपुग्दा अब्बल कविका रूपमा स्थापित हुन्छन् । राणाशाहीको दमनकारी शासन व्यवस्था, सामाजिक अन्धविश्वास, गरिबी र वर्गीय भेदको पहिचानी चेतनाको विकास, राष्ट्रप्रेम र जनप्रेम, स्वतन्त्रता र मुक्तिको अद्भूत चाहना, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिको उत्कट अभिलाषाले कवि मिश्रलाई क्रमशः सामाजिक यथार्थवादी हुँदै आलोचनात्मक यथार्थवादी धारातिर अभिप्रेरित गराउँछ ।
उनका कवितामा प्रकृति पनि विद्रोही हुन थाल्छन् । जनताका दुर्दशा मुखरित हुन थाल्छन् । खासगरी २००४ सालको राणाविरोधी आन्दोलनमा सहभागिता जनाएपछि मिश्रमा विद्रोही र सामाजिक यथार्थवादी काव्य साधनाको ढोका खुलेको देखिन्छ । हुन त १९८६ मा उनले लेखेको ‘अहिंसा प्रार्थना’ खण्डकाव्य राणा प्रधानमन्त्री भीमशमशेरले राणाविरोधी भावना आउँछ भनेर पाण्डुलिपि नै जलाइदिएका थिए । यसले के देखाउँछ भने कवि मिश्रको काव्य चेतनामा विद्रोह, व्यङ्ग्य र मानवताजस्ता कुरा आरम्भकालीन अवस्थामै जागृत भइसकेका थिए ।
राणाविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिपछिको कविका लागि असन्तोषजनक परिस्थितिले उनमा प्रगतिशील-प्रगतिवादी दृष्टिकोण विकसित भएको देखिन्छ । उनको यो भावनाले काव्यात्मक रूप धारण गर्दै गर्दा वि.सं. २०१७ सालको परिवर्तन महìवपूर्ण घटना बन्छ । पञ्चायती व्यवस्था लागू भएपछि जागिरे जीवनमा परेका दुःख र कष्टले मिश्रमा पञ्चायती व्यवस्थाविरोधी भावना अझ बलियो बन्छ ।
त्यति मात्र हैन, उनी स्वदेशमा बसेर जीवन गुजारा गर्न पाइन्न भन्ने निष्कर्षमा पुग्छन् र भारतको बनारसतर्फ लाग्छन् । स्वनिर्वासित जीवनमा हुने गरेका राजनीतिक पार्टीसँगको सम्पर्क र विभिन्न साहित्यिक, सांस्कृतिक सङ्घ सङ्गठनसँगको सामीप्यताले केही समय पातलो रहेको उनको सिर्जना कर्म सक्रिय बन्न पुग्छ । उनी प्रवासमा बसेर देशभित्र चलिरहेको निरङ्कुश शासन व्यवस्थाविरोधी राष्ट्रप्रेमी, जागृतिमूलक, परिवर्तनकारी, क्रान्तिकारी कविता सिर्जना गरिरहन्छन् । यो समय वि.सं. २०१८ देखि २०४० सम्म रह्यो ।
वि.सं. २०४० मा कवि मिश्र स्वदेश फर्किन्छन् । स्वदेश फर्किएपछि कवि मिश्रले क्रान्तिकारी प्रगतिवादी कविका रूपमा उच्च पहिचान पाउँछन् । प्रजातन्त्रको प्राप्तिको चाहना राख्ने, लोकतन्त्रको आह्वान गर्ने र गणतन्त्रको अपेक्षा गर्ने लेखक कलाकारको नेतृत्व उनैमा रहेको जस्तो देखिन थाल्छ । उनका कविता जोशिला, विद्रोही दूरदृष्टियुक्त भएकाले आन्दोलनका लागि ऊर्जा प्राप्त हुने स्रोत बन्न पुगे । रूढीवादी परम्परा, अन्धविश्वास, सामन्ती उत्पीडन, राज्यसत्ताको अत्याचार र दमनलाई ध्वस्त पारी देश र जनताका लागि नयाँ हितकारी शासन व्यवस्था स्थापना गर्ने आह्वानका ज्योति बने उनका कविता ।
खासगरी काठमाडौँ र वरपरका क्षेत्रमा आयोजना हुने निरङ्कुशताविरोधी परिवर्तनकारी लेखक, कवि, कलाकारका कार्यक्रममा मिश्रको उपस्थिति ऊर्जाशील बन्ने गथ्र्यो । बालबालिकादेखि वृद्धसम्मलाई जागरुक गराउने परिवर्तनकारी दृष्टिकोणले सुसज्जित उनका कविता गीत बनेर बज्न थाले निरङ्कुशताविरोधी आन्दोलनका धारिला हतियारका रूपमा । चाहे कोठाभित्र र सभाहलमा आयोजित कार्यक्रम हुन्, चाहे खुला मञ्चका कार्यक्रममा हुन् मिश्रका ज्वालामुखीजस्ता गीतले आन्दोलनकारी, परिवर्तनकामी जनमानसमा जोश, जाँगर, दृढता र विद्रोहको ज्वाला दन्काउँथ्यो । उदाहरणका रूपमा उनको २०४६ सालको जनआन्दोलनको परेड गीत बनेको कविताको अंशलाई हेरौँ :
रक्तकान्तिको ज्वालामुखीमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा–युवतीको
हृदयहृदयको स्वाभिमान (बलिदान उठ्यो)
काव्यसाधक मिश्रले निरङ्कुशताविरोधी आन्दोलनमा भौतिक रूपमै अग्रपङ्क्तिमा उभिएर नेपाली कवि, लेखक, कलाकार को आन्दोलनको नेतृत्व गरे । २०४६ साल चैत ३ गते उनी परिवर्तनकारी लेखक कलाकारले आयोजना गरेको कार्यक्रममा मुखमा कालोपट्टी बाँधेर नेतृत्व प्रदान गर्न पुगे । त्यसबेला मिश्र ८३ वर्षका वृद्ध थिए । शरीर वृद्ध भए पनि मिश्रमा कुनै पनि युवाको भन्दा कम जोश थिएन, कम दृढता थिएन, कम उत्साह थिएन ।
कार्यक्रमबाट मिश्रलाई प्रहरीले गिरफ्तार गर्दा उनी “आन्दोलन जारी छ, अब परिवर्तन हाम्रै अगाडि छ” भनिरहेका थिए । एक हातले लट्ठी टेकिरहेका वृद्ध मिश्रले एक हात उठाएर उपस्थित कवि, लेखक र जनसमुदायलाई अभिवादन गर्दा जनसमुदायले तालीको गड्गडाहटका साथ उनीप्रति सम्मान जनाएको थियो ।
जीवनभर नेपाली माटो, प्रकृति, नेपाल राष्ट्र, नेपाली जनता र समयअनुसारको परिवर्तनको अपेक्षा राख्ने कविता सिर्जना गर्ने कवि युद्धप्रसाद मिश्रको जन्म वि.सं. १९६४ साल पुस २७ गते शनिबार भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा भएको थियो । आफ्नो गाउँठाउँको प्राकृतिक वातावरण, पारिवारिक अवस्था, साथीसँगाती, सामाजिक परिपाटी, देशको स्थिति, शासकको चरित्र आदि नै मिश्रलाई काव्य साधनामा लगाउने प्रेरणाका स्रोत थिए ।
कवि मिश्रले आफ्नो जीवनकालमा केही कथा पनि लेखे ।
‘अमर कथा’ भन्ने कथासङ्ग्रह प्रकाशित छ । जीवनको उत्तरार्धमा बालबालिकाका लागि पनि केही कविता लेखे । उनका पुस्तककार कृतिमा ‘अहिंसा प्रार्थना’ (अप्रकाशित खण्डकाव्य: १९८६), ‘चरा’ (लामो कविता सङ्ग्रह : १९९४), मेघक्रीडा (लामो कविता : १९९४), मुक्तरामायण : अरण्यकाण्ड (खण्डकाव्य : २०२७), बाढी (कविता सङ्ग्रहः २०२९), वेनवध (अप्रकाशित, अपूर्ण खण्डकाव्य : २०३० तिर), मुक्त सुदामा (खण्डकाव्य : सन् १९७२), युद्ध्प्रसाद मिश्रका कविताहरू (कविता सङ्ग्रह : २०४८), युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता (कविता सङ्ग्रह २०९९) हुन् ।
नेपालमा राजनीतिक परिवर्तन र त्यसको पृष्ठभूमि तयार गर्न आजीवन साहित्य साधनामा लागेर साहित्यिक नेतृत्व गरेका कवि युद्धप्रसाद मिश्रको मृत्यु २०४७ साल फागुन ६ गते भयो । उनले आफ्नो क्षेत्रबाट परिवर्तनका लागि जतिसुकै ठूलो योगदान गरे पनि प्रत्येक परिवर्तनपछि देशको जिम्मा लिने सरकारले मिश्रको योगदानलाई सम्झन सकेन । आजसम्म पनि त्यही स्थिति छ ।
आशा गरौँ, आगामी दिनमा यस्तो हुने छैन । मार्गदर्शक अग्रजको सम्झना हुनेछ, उनीहरूको सम्मान हुनेछ । कवि युद्धप्रसाद मिश्रको ११६औँ जन्मजयन्तीको अवसरमा कवि मिश्रप्रति सम्झना एवं हार्दिक सम्मान ।