• २१ असार २०८२, शनिबार

अमेरिकी बजारमा लोकप्रिय बन्दै ‘याला हिमालयन डग चियु’

blog

काठमाडौँ, असार २० गते। नेपाली युवाको उद्यमशील प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ। काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै लोकप्रिय बनेको हो।

ललितपुरस्थित चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत पाँच हजार एक सय प्याकेज छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो। उहाँका अनुसार सो छुर्पीको माग एक महिनामा तीनगुना बढेको छ। 

उहाँले ‘याला हिमालयन’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको जानकारी दिनुभयो। 

उहाँका अनुसार उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक निशुल्क अफरसमेत ल्याएको छ। अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ।


अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापान जस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पुर्‍याउने योजना बनाएको उहाँको भनाइ छ। 

कम्पनीका निर्देशक विश्वबन्धु शर्माका अनुसार नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले कम्पनी अघि बढेको छ। 

उहाँले केवल व्यवसायिक सफलता मात्र नभइ स्थानीय किसानको जीवनस्तर उकास्ने, दीगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने र नेपालको मौलिक उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने उद्देश्य रहेको बताउनुभयो।