• ८ असार २०८१, शनिबार

संरक्षणको पर्खाइमा ‘शङ्खेपहरो’

blog

शंखे पहरामा शङ्ख बजाउँदै एक जना स्थानीय । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, पुस २९ गते । बागलुङको जैमिनी नगरपालिका –५ बिनामारेको एउटा अक्करे भिरमा रहेको पहरोमा शङ्ख आधारको ढुङ्गा छ । जसलाई स्थानीयले शंखे पहरोको नामले पहिचान गरेका छन् । 

बिनामारे रिठ्ठेडाँडा नजिकैको ठूलो पहरोको पिँधतिर शङ्ख आकारमा बनेको चट्टानी आकृतिमा जोड्ले फुक्दा शङ्खाको जस्तै ध्वनि उत्पन्न हुन्छ । उक्त आकृतिमा शङ्खको जस्तै फुक्ने प्वाल र ध्वनि निस्कने प्वाल छ । शङ्ख बजाउन जान्नेले त्यही चट्टानी आकृतिबाट फुकेर परिस्थितिअनुसारको शंखध्वनि निकाल्न सक्ने बिनामारेको स्थानीय हर्कबहादुर थापा मगरले बताउनुभयो ।

पहिले पूरा आकृति बजारमा पाइने शङ्खकैजस्तो थियो । पछिल्लो समय त्यसको संरक्षण नहुँदा फुटाउने, त्यसको प्राकृतिक आकृति बिगार्ने काम भएको थापाले बताउनुभयो । ‘पहिले ठ्याक्कै घरमा राख्ने शंखजस्तै थियो’ उहाँले भन्नुभयो, ‘त्यसको महत्त्व थाहा नहुँदा फुटाउने काम भएको छ ।’ शंखे पहराको संरक्षण र विकास गर्नसके पर्यटन प्रवर्धनमा सहयोग पुग्ने थापाको विश्वास छ । 

शङ्ख बजाउन घरेलु शंखमाजस्तै पानीको प्रयोग गरेर फुक्दा त्यसले तिखो ध्वनि उत्पादन गर्छ । बजाउन पनि सहज हुने स्थानीयको अनुभव छ । त्यहाँ नजिकै खानीको अवशेष रहेको छ । शंखे पहरोको नजिकै करिब १५० जना अट्न सक्ने ठूलो ओढार पनि छ । शंखे पहराको संरक्षण र प्रचार प्रसारका केही प्रयास पनि भएका छन् । 

पोखरामा प्याराग्लाइडिङ व्यवसायमा आबद्ध स्थानीय युवा टेकबहादुर थापाको नेतृत्वमा रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति गठन गरेर शंखे पहराको संरक्षण र अन्य पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । 

‘पोखरामा स्वदेशी विदेशी धेरै पर्यटकसँग सङ्गत गरेको छु’ अध्यक्ष थापाले भन्नुभयो–‘पहराबाट शङ्खको आवाज आउँछभन्दा धेरैले चासो राखेको र हेर्न आउने चाहना राखेका कारण यसको संरक्षणसँगै विकास गर्नुपर्छ भन्ने लागेको हो ।’ पहराबाट शङ्खको आवाज निस्कनु अनौठो भएकाले त्यसको संरक्षणमा लागेको थापाको भनाइ छ । परापूर्वकालामा सञ्चारको साधन नहुँदा तल्लो बस्तीमा कुनै सूचना प्रवाह गर्दा सङ्केतको रूपमा शङ्ख बजाउने गरिएको हुन सक्ने स्थानीयको आङ्कलन छ ।  

शंखे पहराको तल पट्टी देवीदेउताका आकृति देखिने ढुङ्गाहरू पनि छन् । स्थानीयले त्यसलाई धार्मिक आस्थासँग जोडेर त्यहाँ पूजाअर्चना गर्ने र दक्षिणा चढाउने चलन पनि चलाएका छन् । अहिले रिठेडाँडाबाट शंखे पहरा जाने गोरेटो बाटो बनाइएको छ । त्यसलाई व्यवस्थित गरी तरबार गर्न बाँकी छ ।

शंखे पहराको विकासका लागि थप पूर्वाधारका कामहरू गर्नु आवश्यक रहेको स्थानीय पुष्पबहादुर थापाको भनाइ छ । ‘पर्यटकीय विकासको दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो’ उहाँले भन्नुभयो– ‘पहरोमा शङ्ख बज्ने विषयको प्रचार प्रसार र पर्यटकीय संरचना तयार गर्नु आवश्यक छ । पर्यटकीय क्षेत्रको रूपमा रहेकाले त्यसको विकासका लागि नगरपालिकाले ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।