• १२ असोज २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

blog

प्रदेश प्रमुख देवराज जोशीले राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुँदै । तस्बिर : दिनेश विष्ट

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, पुस २७ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

सत्ता साझेदार गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । रावलले आफूलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गर्नका लागि २९ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । 

प्रदेश सभामा तेस्रो ठूलो दल एमालेबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ११, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जनाको प्रतिनिधित्व रहेको छ । मुख्यमन्त्री नियुक्त भएपछि रावलले केही दिनभित्रै सरकोको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । 

उहाँले चुनौतीलाई अवसरको रूपमा लिएर समृद्ध प्रदेश बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री रावलले प्रदेशमा रहेको छाउपडीजस्ता कुरीति हटाउनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने उल्लेख गर्नुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले गर्ने सत्ता साझेदार गठबन्धन दलबीच सहमति भएको छ । अढाई वर्ष रावल र बाँकी अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुने सहमति गरिएको छ । यसैगरी, माओवादीले सभामुख र नागरिक उन्मुक्ति पार्टीले उपसभामुख प्राप्त गर्ने केन्द्रमा सहमति गरिएको थियो । 

सरकार गठनका लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार गठनबारे ढिलो गरी निर्णय गर्दा दाबी पेस गर्ने समयको अन्तिम समयसीमामा रावलले दाबी पेस गर्नुभएको थियो ।