• १३ साउन २०८१, आइतबार

डिजिटल प्रणालीमार्फत किसानको बाली बीमा

blog

बाली बीमाको चेक पाउनुभएका बढैयातालका एक किसान । तस्बिर : सिराज खान

सिराज खान

नेपालगञ्ज, पुस २७ गते । कृषि बीमा अन्तर्गत, नेपालमै पहिलो पटक डिजिटल प्रणालीमार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धानबाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बीमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, लुम्बिनी सीड कम्पनी,  गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालिलगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बीमा सुरु गरेका हुन् ।  

पहिलो पटक बीमा गराएर धानबाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम वितरण गरिएको एनएलजी बीमा कम्पनीका प्रतिनिध अनु हमालले बताउनुभयो । 

क्षति भएका किसानलाई क्षति बराबरको रकम ३ हजार ४०० देखि ३३ हजार रुपियाँसम्मको चेक हस्तान्तरण गरिएको छ । सुरुमा पानी नपरेर खडेरीको समस्या, किराहरूको समस्या र पछि ठूलो पानी आएर डुबानको समस्याले धानवालीमा क्षति पुगेपछि सोही क्षति अनुसारको रकम बीमा गराएका किसानलाई उपलब्ध गराइएको हमालले बताउनुभयो । 

सीड इनोभेसन्स प्रालिद्वारा निर्मित प्लान्टस्याट डिजिटल बीमा प्रविधिको प्रयोग गरी बीमालाई सहज, छिटो र छरितो होस् भन्ने उद्देश्यका साथ भू–उपग्रह स्वचालित मौसम स्टेशन र किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियोसहितको प्रक्रियामार्फत अनुगमन गरिएको थियो । 

क्षति दाबी गर्नुभएका किसानको खेतमा गई अन्तर्राष्ट्रिय मापदण्डअनुसार किसानको खेतको क्षेत्रफल हेरेर किसानको उत्पादन निकाली त्यही उत्पादनका आधारमा किसानको क्षति कति भयो भन्ने पुष्टि गरिएको बीमा कम्पनीले जनाएको छ ।