• १५ वैशाख २०८२, सोमबार

प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते

blog

काठमाडौँ, पुस २७ गते । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले माघ ५ गते सभामुखको निर्वाचन गर्ने मिति तोक्नुभएको हो । 

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । बैठकको निर्देशनअनुसार अब सचिवालयका महासचिव डा. भरतराज गौतमले चुनावी कार्यतालिका प्रकाशन गर्नुहुनेछ । माघ ३ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्न बैठकले नै निर्देशन दिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले माघ ३ गते सभामुखको निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “माघ ४ गते मनोनयन दर्ता गर्ने समय दिइनेछ, दर्ता भएका मनोनयनको भोलिपल्टको बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।” त्यसरी निर्णयार्थ प्रस्तुत हुनुअघि प्रस्तावक र समर्थकले उम्मेदवारको पक्षमा प्रस्ताव पेस गर्ने तथा समर्थनका लागि सदनमा आग्रह गर्नेछन् । संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधि सभाका सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी निर्वाचन गर्नुपर्नेछ । प्रतिनिधि सभाका सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । 

प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार प्रकाशित निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्नुपर्नेछ । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । 

सत्ता साझेदार दलबीच भएको सहमतिबमोजिम सत्ता साझेदार दलबाट नेकपा (एमाले)ले मात्रै सभामुख पदमा प्रस्ताव दर्ता गर्ने सहमति भएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले भने सभामुख पदका लागि प्रस्ताव दर्ता गर्ने÷नगर्ने निर्णय गरिसकेको छैन तर एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावउपर छलफल हुनेछ । छलफलपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।