• १५ वैशाख २०८२, सोमबार

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले आ.व. ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जानकारी दिनुभयो । उहाँले व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने कांग्रेसको मान्यता रहेको बताउनुभयो । 

सभापति देउवाले भन्नुभयो, ‘‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ । आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’’ सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताउनुभयो ।