• १५ वैशाख २०८२, सोमबार

मिटर ब्याजविरुद्ध किसान मजदुरको धर्ना

blog

मिटर ब्याजविरुद्ध मजदुर किसानले रौतहट जिल्ला अदालत अगाडि गरेको धर्ना । तस्बिर : गोरखापत्र

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), वैशाख १५ गते । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।

फर्जी तमसुक खारेज, किसानको जग्गा फिर्ता, पक्राउ पुर्जी खारेजी लगायतका माग राखी गौर नगर परिक्रमा गर्दै अदालतको गेटमा धर्ना दिएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष शिवशङ्कर महतोले बताउनुभयो ।

धर्ना कार्यक्रम अगाडि मजदुर किसानले जिल्ला अदालतका श्रेस्तेदारमार्फत मुख्य न्यायाधीशलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको लामो सङ्घर्ष पश्चात शोषित उत्पिडित जनसमुदायको पक्षमा अनुचित लेनदेनविरुद्ध कानुन आए पनि पीडितको हकमा कार्यान्वयन नहुँदा  निराशा थपिएको ज्ञापनपत्रमा भनिएको छ ।

सम्मानित अदालतले न्यायिक सङ्घर्षको मर्मलाई ध्यानमा राखी पिडित पक्षलाई न्याय दिलाउन पिडितविरुद्ध फैसला तत्काल स्थगित गरि पुनरावलोकन गर्न मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको माग रहेको छ  ।