• १३ साउन २०८१, आइतबार

औद्योगिक मेला फागुनमा

blog

काठमाडौँ, पुस २५ गते । नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएकामा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीबारे बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभरका झन्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिविम्बित गर्ने बताउनुभयो । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने प्रदर्शनीको मुख्य नारा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीमा सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासङ्घले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।