• १६ भदौ २०८१, आइतबार

सहकारीका समस्यामा सबैको चासो

blog

काठमाडौँ, पुस २५ गते । सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न नहुने सरोकारवालाले बताएका छन् । नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समितिको बैठकमा सहभागीले यस्तो बताएका हुन् ।

पूर्वगृहमन्त्री तथा महासङ्घका सल्लाहकार बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताउनुभएको छ ।

सबै मिलेर वर्तमान सङ्कटबाट मुलुकलाई बचाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “उद्योग व्यवसायी, बैङ्क तथा वित्तीय संस्थादेखि सबै क्षेत्र सङ्कटमा छ । त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन ।”  

पूर्वमन्त्री तथा महासङ्घका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन रूपमा चुनौतीको समाधान गर्न आफ्नो साथ रहने बताउनुभयो । 

पूर्वमन्त्री तथा महासङ्घका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति–निर्माता, दलका नेताहरूलाई बुझाउन सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताउनुभयो ।

महासङ्घका सल्लाहकार डा. उषा झा र सल्लाहकार रवीन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनुपर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

महासङ्घका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष तथा सञ्चालक खेम पाठक, सञ्चालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरूलाई जानकारी गराउनुभएको थियो ।

महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासङ्घको नीति, कार्यक्रम तथा गतिविधिहरूको विषयमा प्रस्तुति गर्नुभएको थियो ।