• ८ मंसिर २०८१, शनिबार

खत [कथा]

blog

कतार एयरवेजको विमानले कतार र काठमाडौँबीचको दूरी कतिखेर पूरा गरिसकेछ, बिर्खबहादुरले मेसोसम्म पाएन । एकैचोटि अब विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको सुनेपछि ऊ झस्कियो । 

‘झ्या काठमाण्डु नै पो आइपुगिसकिएछ’, उसले मनमनै बोल्यो । बीस मिनेटपछि विमान काठमाडौँ विमानस्थलमा उत्रियो । अरू यात्रुहरू जस्तै बिर्ख पनि ‘अनबोर्ड’ भयो । अरूलाई के थियो कुन्नि, बिर्खलाई भने अलि हतारो नै थियो किनभने उसले आजै दिउँसो ३ बजे धनगढीको अर्को विमान चढ्नु थियो । 

बल्ल बल्ल ३६ प्रतिशत ब्याजमा ऋण खोजेर बिर्ख कतार गएको १३ महिना पुग्दै थियो । यसबीचमा उसले मुस्किलले आधा ऋण मात्र तिर्नसकेको थियो । गाउँमा आमा सिकिस्तै भएको खबर पाएपछि बिर्खले नफर्की सुखै पाएन किनकि ७० वर्ष टेकिसकेकी आमा मनमतीको ऊ एक्लो छोरो थियो । दस वर्षको हुँदा नै उसका बाबु बितेका थिए । यो घटना बिर्खलाई सपना हो कि विपनाजस्तो लाग्छ अझै लाग्छ । उसकी आमाले चार सन्तानलाई जन्म दिएकी हुन् तर बिर्ख मात्र बाँच्यो । बाल टुहुरो बिर्खलाई आमाले निकै दुःख गरेर हुर्काइन् । आफू अनपढ भए पनि कक्षा ८ सम्म पढाइन् पनि । त्यसपछि पढ्न तीन घण्टा आउजाउ गरेर छिमेकी गाउँको हाईस्कुल जानुपथ्र्यो । बिर्खलाई खै किन हो अल्छी लाग्यो र पढ्न छोडिदियो । 

बिर्खले झन्डै पाँच वर्ष बरालिएरै बितायो । हुन त एक पटक गाउँका दौंतरीहरूको लहैलहैमा लागेर ऊ दाम कमाउन लखनउसम्म नपुगेको होइन । तर लखनउको बसाइमा खासै कमाइ हुने छाँट नदेखेपछि बिर्ख सात महिनामै घर फर्कियो । बिर्खको उमेर चढ्दो थियो । आमा मनमतीको चाहिँ दिन घट्दो थियो । मनमतीलाई बुढ्यौलीले छोइसकेको थियो । विभिन्न रोगले ग्रस्त पनि थिइन् । सम्पत्तिका नाममा खरले छाएको एउटा सानो घर, एक हल गोरु लाग्ने बारीबाहेक केही थिएन । मनमतीको आफन्तका नाममा त्यही एउटा छोरा बिर्ख मात्र थियो । मनमतीले सकी नसकी छोरा बिर्खलाई हुर्काएकी थिइन् । छोरा आफूसँगै भएकोमा उनी खुसी थिइन् । 

एकदिन बिर्खले भन्यो, ‘आमा अब म पनि विदेश जान्छु । पासपोर्ट निकाल्नु प¥यो । पैसा जोहो गरिदिनु है ।’ छोराको मुखबाट यस्तो कुरा सुनेपछि मनमती छाँगाबाट खसेजस्तै भइन् । 

‘पर्दैन विदेश जान । यही गाउँमै केही गर्लास्’, छोराको मुखबाट विदेश भन्ने शब्द सुन्नासाथ मनमतीको मन अत्तालियो । 

‘कहाँ त्यसो भनेर हुन्छ ? सबै दौंतरीहरू विदेश गइसके । म पनि जाने हो । मलाई रोक्ने कोसिस गर्नुभयो भने आजै भागिदिन्छु नि’, बिर्खले आमालाई धम्की दियो । छोराको धम्की सुनेर आमा मनमतीको मन भित्रभित्रै कहालियो । सके यसै वर्ष नभए अर्को वर्ष छोरोको बिहे गरिदिने मनमतीको भित्री योजना थियो । अनि सासूबुहारी मिलेर र छोरासँग हातमा हात, तालमा ताल मिलाएर देउडा खेल्ने धोको थियो । छोराको विदेश जाने प्रस्ताव उनका लागि अप्रत्यासित थियो । 

छोराले जिद्दी गरेपछि मनमतीले ठूलै दुःखले राहदानी निकाल्न पैसाको जोहो गरिदिइन् । त्यसपछि विदेश जाने सबै काम फटाफट भए । हुन त बिर्ख अरूभन्दा अलि बुझक्की र आज्ञाकारी थियो । आफ्ना लागि आमाले कति त्याग र सङ्घर्ष गरेकी छिन्, त्यसको पूरै हेक्का थियो उसलाई । त्यसैले ऊ कहिलेकाहीँ आमालाई भन्ने गथ्र्यो, ‘आमा अब तिम्रा दुःखका दिन सकिए । अब मेरो पालो हो । म दुःख गरेर भए पनि तिमीलाई खुसी दिन्छु ।’ छोराको यस्तो कुरा सुनेर मनमतीको हृदय भरिन्थ्यो र आँखाबाट आँसु बनेर बग्थ्यो । बुझक्की छोरा पाएकोमा मसिनो कदको उसको छाती गर्वले चौडा हुन्थ्यो । 

०००

यति एयरको फुच्चे विमान धनगढीमै छोडेर बिर्ख लोकल जीप चढेर सरासर बैतडी जिल्ला अस्पतालतिर लाग्यो । मुस्किलले १२ जनाका लागि बस्न पुग्ने जीपमा बिर्खसहित १८ जना सवार थिए । एक घण्टा कुरेको भए उसले अर्को जीपमा बस्ने सिट पाउँथ्यो । तर कुर्ने धीरता उसमा थिएन । जीप आफ्नो गतिमा गुडिरहेको थियो । मन हतारिएर होला, बिर्खलाई भने जीपको गति असाध्यै ढिलो लाग्यो । 

बिर्ख चुपचाप जीपबाट देखिने वरिपरिका दृश्य नियालिरहेको थियो । अस्पताल पुगेर बिर्ख बेड नम्बर १०९ खोज्दै गयो । उसकी आमा बेडमा लम्पसार थिइन् । छेउमा कुरुवा बसेका थिए छिमेककै दाजु जङ्गमान । बिर्खलाई देखेर जङ्गमानले लामो सास फे¥यो । ‘आमालाई के भएको हो जङ्ग दाइ ?’, बिर्खले सोध्यो ।

‘खै डाक्टरले हामीलाई केही भनेका छैनन् । छोरोलाई छिटो खबर गर्नु मात्र भने’, जङ्गको कुरा सुनेर बिर्खको मनमा चिसो पस्यो । बिर्खले बेहोस् आमालाई नियाली मात्र रह्यो । एक वर्षमै आमाको नापनक्सा सबै फेरिइसकेछ । कपाल अझ सेतै फुलिसकेछ । गालामा चाउरी परेका रेखाबाहेक अरू केही थिएन । ओठ कलेटी परेको थियो । उसले सानोछँदा समाउँदै हिँड्ने आमाका हातका औँला हे¥यो, ती सिन्का हुन् कि औँला ? छुट्याउन नसकिने बनिसकेका रहेछन् । केही समयपछि नियमित चेकजाँचका लागि डाक्टर आयो । डाक्टरलाई बिर्खले आमाको रोगका बारेमा सोध्यो ।  ‘ए तपार्इं नै हो यी आमैका छोरा । केस अलि जटिल छ, त्यसैले तपाईंलाई बोलाउन मैले नै भनेको’, डाक्टरले भन्यो । 

‘कस्तो जटिल डाक्टर ?’ बिर्खको मन अत्तालियो । 

‘आइ एम सरी भाइ । आमाको अब बढीमा छ महिना मात्र समय होला । त्यसैले उपचार गर्नुभन्दा घर लैजाउनु बेश होला’, डाक्टरले सबै कुरा एकै सासमा भनिदियो । 

‘तपाईंहरूले त बिरामीलाई उपचार गरेर निको पारिदिने हो । उल्टै यस्तो कुरा गर्ने ? तपाईंले सक्नुहुन्न भने म अर्को अस्पताल लैजान्छु’, बिर्ख झोक्कियो ।  ‘त्यो त तपाईंको आफ्नो कुरा हो’, यति भनेर डाक्टर हिँड्यो । 

केही समयपछि मनमतीको होस आयो । बिर्खले आमालाई आफू आइपुगेको बतायो । छोराको आवाज सुनेर आमाले रुँदै बिर्खलाई मुसारिरहिन् । बिर्खलाई थाहा भयो आमाले राम्रोसँग आँखा देख्न मात्र होइन, पूराना कुरा सम्झना पनि छाडिसकेकी रहिछन् । 

भोलिपल्टै बिर्खले आमालाई थप उपचारका लागि नेपालगञ्ज अस्पताल लग्यो । सुरुका केही दिन त्यहाँका डाक्टरले ठूलो आशा र भरोसा देखाएर आमाको उपचार गरे । त्यो उत्साह त्यहाँ पनि धेरै दिन टिकेन । एक साता बसेपछि त्यहाँका डाक्टरले पनि पहिलेकै डाक्टरको जस्तो कुरो सुनाए । 

दुईवटा अस्पतालको बिल तिर्दा बिर्खले कतारबाट ल्याएको पैसा लगभग सक्यो । गोजीमा पैसा नभएपछि आत्मबल पनि घट्दो रहेछ शायद । बिर्खले अब आमालाई नेपालगञ्जबाट चितवन, काठमाडौँ वा दिल्ली कतै लैजानेबारे सोच्नसमेत सकेन । त्यसैले लाचार भएर ऊ बिरामी आमालाई बोकेर गाउँ फर्कियो । 

पहिले आमाले आफ्ना लागि जेजे गर्नुहुन्थ्यो, त्यो सबै अहिले बिर्खले गर्न परिरहेको थियो । आमालाई समयमा खान पकाएर खुवाउने, समय समयमा नुहाइधुवाइ गर्ने, लुगा धोइदिने र फेरिदिनेसम्म उसैले गर्नुपथ्र्यो । उसको सेवाभाव देखेर गाउँका सबै चकित थिए । कतिले त उसलाई श्रवणकुमार पनि भने । तर यस्ता कुरा बिर्खका लागि अर्थहीन थियो । 

आमाकै लागि उसले कतारको काम समय नपुग्दै छोडेर आएको थियो । साहुको ऋण आधाआधी अझै बाँकी थियो । खेतबारीको काम गर्ने, वस्तुभाउ हेर्ने र बिरामी आमा स्याहर्ने काम ऊ एक्लैले गर्नु प¥यो । गाउँका एक दुई जना शुभचिन्तकले विवाह गर्न नसुझाएका पनि होइनन् बिर्खलाई ? तर बेहाल परिवारमा छोरी दिन कुन बाबुआमा तयार हुने र ? जहाँ गाह्रो, त्यहीँ साह्रो भने झैँ सबै कुरा जगजाहेर हुँदाहुँदै पनि नातामा काका पर्ने गाउँकै हरेराम आएर बिर्खलाई थर्काउनु थर्काए । विदेश जाँदा सापटी लिएको बाँकी १५ हजार रुपियाँ तिर्न नसक्दा मुखमा आएजति सबथोक भनेर गए । त्यतिसम्म त सहेकै थियो बिर्खले तर हरेरामले बिरामी आमाका बारेमा समेत भन्नु नभन्नु भने । त्यसपछि भने उसको रिसले आँखा देख्न छोड्यो । उसले रिसको आवेगलाई थाम्नै सकेन । उसको सामुन्ने आमा मात्र थिइन् । सबै रिस उसले बिरामी आमामाथि नै खन्यायो, ‘मलाई दुःख मात्र दिन कति बाँच्छाैँ बूढी ?’ नभन्दै त्यसको तेस्रो रातमै बिर्खको आमाले अन्तिम सास फेरिन् । 

चितामा बिर्खकी आमाको शव दन्किरहेको थियो । उसको मन पनि भत्भती जलिरहेको थियो । शायद जीवनभर सम्झिरहनु पर्ने खतको रूपमा उसले यस घटनालाई लियो । मनभित्रको यो पीडा र मातृवियोगमा छटपटिएको बिर्खले आँसुको मुहान रोक्न सकेन । ऊ भक्कानिएर रुन थाल्यो । मलामीहरूको आवाज उसको कानमा ठोक्किरहेको थियो– यो कलियुगमा पनि श्रवणकुमार जन्मिदो रहेछ ।