धनगढी समाचारदाता
धनगढी, पुस २३ गते । कैलालीको भजनी नगरपालिका–५ स्थित करमदेव घाटमा काठेपुलबाट वारपार गरेबापत ठेकेदारले यात्रुसँग चर्को शुल्क असुल्दै आएका छन्।
कान्द्रा नदीमा काठको पुल सञ्चालन गरेका ठेकेदारले नगरपालिकाले तोकेकोभन्दा दोब्बर बढी रकम असुल्न थालेको स्थानीयवासीको गुनासो छ। नगरपालिकाले मोटरसाइकलसहित प्रतिव्यक्तिको १५ रुपियाँ शुल्क निर्धारण गरेको छ तर ठेकेदारले मोटरसाइकलसहित प्रतिव्यक्तिको एकतर्फी ३० रुपियाँ शुल्क लिइरहेका छन्। अन्य पुलमा एकतर्फी मात्रै शुल्क लिने गरिए पनि यो घाटमा दोब्बर र दोहोरो शुल्क लिने गरेको यात्रुले बताएका छन्।
जानकी गाउँपालिका–८, जबलपुरका अङ्कर चौधरीले हुलाकी राजमार्ग भएर धनगढीसम्म ओहोरदोहोर गर्दा दोहोरो शुल्क तिरेको बताउनुभयो। उहाँले भन्नुभयो, “म सधैँ त्यही बाटो भएर धनगढी जान्छु। जाँदा ३० र फर्कंदा ३० गरेर ६० रुपियाँ तिर्दै आएको छु।”
उहाँका अनुसार जाँदा, फर्कंदाको एकमुष्ट तिरेमा ठेकेदारले ५० रुपियाँ लिन्छन्। कर्मदेव घाटमा एक वर्षसम्म डुङ्गा सञ्चालनका लागि वडा नं. ५ कै लोकबहादुर कुमालसहितका पाँच जनाले सामूहिक रूपमा ठेक्का पाएका छन्। एक लाख ५१ हजार पाँच सय रुपियाँमा ठेक्का पाएका ठेकेदारले डुङ्गा र काठेपुल सञ्चालन गर्दा यात्रुबाट चर्को शुल्क असुल्दै आएको स्थानीयवासीको गुनासो छ। हुलाकी राजमार्गअन्तर्गतको सो घाटमा धनगढी, टीकापुर, राजापुरसम्म आउजाउ गर्ने मान्छे दिनभरि ओहोरदोहोर गरिरहन्छन्। सोही घाटको तलतिर केही दूरीमा रहेको थेकीपुरस्थित कान्द्रा नदीको पुल बेलैमा निर्माण नहुँदा घाटमा काठेपुल र डुङ्गा सञ्चालन गर्ने ठेकेदारबाट यात्रु ठगिँदै आएका छन्।
पुल निर्माण गर्ने ठेकेदारको चरम लापरबाहीका कारण १२ वर्ष पुगिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन। नगरपालिकाले तोकेभन्दा बढी ठेकेदारले शुल्क लिएको गुनासो सुनिए पनि प्रमाणसहित कसैले पनि जानकारी नगराएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विक्रम चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, “गुनासो सुनियो तर प्रमाणसहित कसैले पनि जानकारी गराएन। यदि त्यसरी नै लिइरहेको प्रमाण फेला प¥यो भने उनीहरूको ठेक्का तत्कालै रद्द गर्छौं।”
काठेपुल तर्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि पत्र लेखेर ठेकेदारलाई चेतावनीसमेत दिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो। सबै घाटमा नगरपालिकाले शुल्क तोकेको बोर्ड पनि राखिदिएको छ। नगरपालिकाले एक किसिमको शुल्क तोके पनि ठेकेदारले भने आफैँले निर्धारण गरेर मनोमानी शुल्क लिइरहेको जनाइएको छ।
नगरपालिकाले साउनदेखि असोजसम्म डुङ्गा तरेबापत प्रतिव्यक्ति १०, साइकलसहित व्यक्तिको २०, मोटरसाइकलसहित व्यक्तिको ३० र अटोको ८० रुपियाँ शुल्क निर्धारण गरिएको छ। यो बेला नदीमा पानीको सतह बढी रहने गर्दछ। त्यस्तै कात्तिकदेखि असारसम्म व्यक्तिको पाँच, साइकलसहित व्यक्तिको १०, मोटरसाइकलसहित व्यक्तिको १५ र अटोको ४० रुपियाँ शुल्क निर्धारण गरिएको छ।
आठवटा घाट ठेक्कामा
भजनी नगरपालिकाले चालू आर्थिक वर्षमा आठवटा घाट ठेकेदारलाई ठेक्कामा दिएको छ। नगरपालिकाको आम्दानी बढाउने उद्देश्यसाथ सो पालिकाले विभिन्न वडामा रहेको घाट ठेक्कामा लगाएको हो। एक वर्षका लागि ठेक्का दिइएको आठवटा घाटबाट ४७ लाख ३४ हजार ९४२ रुपियाँ राजस्व उठ्ने सो शाखाका कर्मचारी मीनबहादुर धामीले जानकारी दिनुभयो।
नगरपालिकाले वडा नं. ५ स्थित कान्द्रा नदीको कर्मदेव घाट एक लाख ५१ हजार पाँच सय, खैरेनी घाट एक लाख सात हजार १२५ रुपियाँमा ठेक्का दिएको छ। यसैगरी वडा नं. ५ स्थित मोहना नदीको गुलरिया घाट १५ लाख २१ हजार रुपियाँ, हलौना घाट छ लाख ५१ हजार १५१, कौवाखेरा घाट पाँच लाख एक हजार रुपियाँमा ठेक्का दिएको छ। यस्तै वडा नं. ७ स्थित हिम्मतपुर घाट एक लाख २५ हजार पाँच सय, वडा नं. ३ स्थित दैलेखी घाट एक लाख एक हजार र सोही वडाको कुसुम घाट १६ लाख ६६ हजार ६६६ रुपियाँमा ठेक्का दिएको छ। एक वर्षका लागि फरकफरक व्यक्तिले घाट ठेक्का पाएको धामीले जानकारी दिनुभयो।