• १२ असोज २०८१, शनिबार

गोलियाबाट पाँच करोड राजस्व सङ्कलन

blog

डिभिजन वन कार्यालयले नियन्त्रण गरी कार्यालय परिसरमा राखेको गोलिया। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २० गते। ताप्लेजुङमा गोलिया उत्पादन तथा निकासीबाट पाँच करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो डेढ वर्षको अवधिमा गोलिया उत्पादन (कटान) र निकासीबाट मात्र जिल्लामा उक्त राजस्व रकम सङ्कलन भएको हो।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को मङ्सिर मसान्त सम्ममा गोलियाबाट एक करोड ५५ लाख ९३ हजार ७५ रुपियाँ राजस्व सङ्कलन भएको छ। चालू आवको मङ्सिर मसान्त सम्ममा तीन लाख ७६ हजार ७०९ क्युफिट काठ उत्पादन तथा निकासी भएको छ। 

उक्त परिमाणमा निकासी भएको काठबाट मूल्य अभिवृद्धि करबापत एक करोड ४८ लाख ३९ हजार ६५७ रुपियाँ राजस्व सङ्कलन भएको छ। यस्तै प्रदेश सेवा शुल्कबापत सात लाख ५३ हजार ४१८ रुपियाँ राजस्व रकम सङ्कलन भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिनुभयो।

गत आर्थिक वर्ष २०७०/७९ मा गोलिया उत्पादन तथा निकासीबाट कुल तीन करोड ५१ लाख ४४६ रुपियाँ राजस्व सङ्कलन भएको छ। सो वर्ष मूल्य अभिवृद्धि करबापत तीन करोड ३१ लाख ६१ हजार २६८ रुपियाँ र प्रदेश सेवा शुल्कबापत १९ लाख ३९ हजार १७८ रुपियाँ राजस्व सङ्कलन भएको छ। उता अवैध रुपमा काठ कटान तथा निकासीबाट जरिवानाबापत करिव १५ लाख रुपियाँ जति राजस्व सङ्कलन भएको सहायक वन अधिकृत शाहले जानकारी दिनुभयो।

गत आवमा अवैध रुख कटान तथा निकासीसम्बन्धी एउटा मुद्दाको कारबाही प्रक्रिया चलेको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यसवर्ष पनि हालसम्म अवैध काठ निकासीसम्बन्धी एउटा मुद्दाको कारबाही प्रक्रिया चलिरहेको छ। बिना अनुमति (पूर्जी) अवैध रुपमा दुईवटा ट्रयाक्टरमा निकासी हुँदै गरेको ३०१ क्युफिट उत्तिसको काठ नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत शाहले जानकारी दिनुभयो। 

ताप्लेजुङबाट अधिकांश उत्तिस प्रजातिको काठ कटान तथा निकासी हुने गरेको डिभिजन वन कार्यालयका सहायक युवराज पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार उत्तिस पछि मलातो र पात्ले कटुस प्रजातिको काठ निकासी हुने गरेको छ। चिलाउने र सल्ला प्रजातिको काठ पनि सीमित रुपमा कटान तथा निकासी हुने गरेको उहाँले बताउनुभयो।