• १३ साउन २०८१, आइतबार

जुस तथा जाम बनाउने तालिमले किसान उत्साही

blog

तालिमका क्रममा तयार गरिएका जाम, जुस र चक्लेट । तस्बिर : गोरखापत्र

सन्तोष राउत

सोलुखुम्बु, पुस २० गते । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने रहेछ ।

अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम सञ्चालन भएको भन्दै अपेक्षा गरेको भन्दा फरक तर प्रभावकारी तालिम सञ्चालन हुनु दिउसावासीको लागि खुसीको कुरा भएको बताउनुभयो । नेपाल कृषि प्रधान देश भनिएता पनि यहाँको स्रोत साधनको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता तालिमले स्वरोजगार बन्न समेत सहयोग पुग्ने सहभागीहरूको भनाइ छ ।

सात दिनसम्म सञ्चालन भएको तालिममा ३५ जना कृषकको सहभागिता रहेको थियो । तालिम घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको हो । यस क्षेत्रमा सुन्तला धेरै फल्ने गरेको छ तर बजारमा राम्रो भाउ नपाउने समस्या रहेको छ ।

यहाँ पछिल्लो समय किबीको व्यावसायिक खेती पनि बढिरहेकाले यो तालिम महत्त्वपूर्ण हुने स्थानीय बताउँछन् । गाउँपालिका उपाध्यक्ष सविता राईले तालिम लिनु मात्र ठूलो कुरा नभई यसलाई व्यवहारमा प्रयोग गर्दै रोजगार सिर्जना गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सीप बिना कुनै पनि उद्यम तथा रोजगार सिर्जना नहुने भएकाले कार्यक्रम आयोजना गर्ने कार्यालयलाई विशेष धन्यवाद दिनुभयो । 

रोजगारी सिर्जनाको लागि उद्यम आवश्यक भएकाले तालिम आयोजना गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले यस वर्ष आवश्यक प्रक्रिया पुरा गरी सहभागीलाई उद्यमी बनाउने बताउनुभयो ।

घरेलु तथा उद्योग विकास अधिकृत सङ्गीता राईले वडाको माग अनुसार कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिमको सहजीकरण प्रशिक्षक खेतराज कार्की र मनमाया राईले गर्नुभएको हो ।