• १२ असार २०८१, बुधबार

ञिङ्मा मोन्लम काठमाडौँमा सुरु

blog

काठमाडौँ, पुस १८ गते । काठमाडौँको बौद्ध स्थित शेर्पा सेवा केन्द्रको शेर्पा गुम्बामा १३ औँ नेपाल ञिङ्मा मोन्लम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङ्मा सङ्घको आयोजनामा पुस १७ देखि २२ गतेसम्म छ दिने मोन्लम पूजा सुरु भएको हो । 

नेपाल बौद्ध ञिङ्मा सङ्घले २०६६ सालदेखि वार्षिक रूपमा आयोजना गर्दै आएको यस पूजामा बौद्ध धर्मावलम्बी बाक्लो उपस्थिति छ । पूजामा विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपासक उपासिकाहरूको सहभागिता छ । मोन्लम पूजापाठमा विश्वमै कुनै पनि प्रकारको रोग, युद्ध, कलह र प्राकृतिक प्रकोपले बाधा नदिई दिगो सुख शान्ति समृद्धिको कामना गरिन्छ । 

बुद्धभूमि नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवम् धार्मिक तथा सांस्कृतिक महत्त्वलाई संरक्षण गर्न आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङ्मा सङ्घका अध्यक्ष सेङ्डाक टुल्कु रिन्पोछेले जानकारी दिनुभयो । 


दैनिक बिहान ७ः३० देखि दिउँसो ४ बजेसम्म हुने पूजापाठ कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार बिहान शरण गमन, बोधिचित्त उत्पादन, प्रज्ञापारमिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्यभद्र चर्या प्रतिधान राजा, आर्य मञ्जुश्री नाम साङ्गीति, तारा स्तुति आदिको साथै मङ्गल परिणामनाको पाठ हुने गरेको अध्यक्ष रिम्पोछेले बताउनुभयो । 

पूजापाठ कार्यक्रममा विशिष्ट धर्मगुरुको उपस्थिति

पूजापाठ कार्यक्रममा विशिष्ट धर्म गुरुहरूको उपस्थिति छ । दिल्गो खेन्चे याङसी रिन्पोछे, देफुक टुल्कु रिन्पोछे, खेन्पो साङ्गे राङज्युङ रिन्पोछे, गेटक रिन्पोछेलगायत विभिन्न जिल्लाका गोन्पाहरूबाट हजारौँ बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको व्यापक उपस्थिति रहेका छन् ।

छ दिनसम्म आयोजना हुने मोन्लाम कार्यक्रममा विभिन्न सङ्घ–संस्थाहरूबाट स्वयं सेवाहरूले निस्वार्थ रूपमा सरसफाइ सहभागी भक्तजनहरूलाई चिया, खाजा, खाना वितरण गर्ने कार्यमा सहयोग गरेका छन् । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।