• १३ साउन २०८१, आइतबार

लोकप्रिय मतमा ओरालो यात्रा

blog

काठमाडौँ, पुस १६ गते । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा  झ-यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा (माओवादी केन्द्र)को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त ग-यो । 

पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ । हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोेसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् । समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ । 

नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् । यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले एक दशमलव ९२ प्रतिशत मत गुमाएको छ । 

यो पटक एमालेको मतमध्ये करिब तीन लाख मत नेकपा (एकीकृत समाजवादी)ले खोसेको छ । एकीकृत समाजवादी एमालेबाट विभाजित दल हो । स्पष्ट आँकडा नभए पनि तीन ठूला दलको मत यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले खोसेका छन् । जनमत पार्टीले मधेश केन्द्रित दल जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको पनि मत खोसेको आकलन गरिएको छ । यस्तै पहिलो पटक निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले पनि ठूला र मधेश केन्द्रित दलबाट करिब तीन लाख मत खोसेको छ । तर नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल भने बन्न सकेन । 

राष्ट्रिय दल बनेको स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ । यस्तै राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत पाएको छ । राष्ट्रिय दल बन्न नसकेका एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले पनि करिब तीन लाख मत ल्याएका छन् । 

कति थिए मतदाता ?

पहिलो संविधान सभा सदस्य निर्वाचनमा एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता थिए । यस्तै उक्त मतदाता सङ्ख्या दोस्रो संविधान सभामा ह्वात्तै घटेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । २०७० सालमा एक करोड २१ लाख ४७ हजार ८६५ हजार मतदाता कायम थिए । सङ्घीय संरचनामा पहिलो पटक भएको सङ्घ र प्रदेशको चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता कायम थिए । यस्तै २०७९ सालमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम थिए । 

दोस्रो संविधान सभा निर्वाचन र २०७४ सालको चुनावबाहेक अन्यमा मतदाता सङ्ख्या र प्रतिशत दुवै उत्साहजनक छैन । २०६४ सालमा एक करोड ११ लाख ४६ हजार ५४० मतमा एक करोड सात लाख ३९ हजार ७८ सदर भएको थियो ।  

२०६४ सालपछि लोकप्रिय मतमा खासै ठूलो अन्तर नराखेका कांग्रेस र एमालेले पनि यो पटक लोकप्रिय  मतमा धक्का पाए ।  

यस्तै दोस्रो संविधान सभामा ९७ लाख ७६ हजार ७०३ मत खसेकोमा ९४ लाख ६३ हजार ८३२ सदर भएको थियो । २०७४ सालमा ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो । हालैको निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको आयोगको विवरणमा उल्लेख छ । 

निर्वाचन आयोगको विवरणअनुसार दोस्रो संविधान सभा निर्वाचन २०७० सालमा उल्लेख्य मतदान भएको  छ । जसमा ७८ दशमलव ३४ प्रतिशत मतदान भएको थियो । यस्तै पहिलो संविधान सभा सदस्य निर्वाचन २०६४ सालमा ६१ दशमलव ७० प्रतिशत मत सदर भएको थियो । यस्तै २०७४ सालमा ६८ दशमलव ६३ प्रतिशत र २०७९ सालमा ६१ प्रतिशत मत सदर भएको आयोगको विवरणमा उल्लेख छ ।  

घाटामा कांग्रेस र एमाले

२०६४ सालपछि लोकप्रिय मतमा खासै ठूलो अन्तर नराखेका कांग्रेस र एमालेले पनि यो पटक लोकप्रिय  मतमा धक्का पाए । पछिल्लो दुई चुनावमा एमाले कांग्रेसभन्दा प्रतिशत र स्थान दुवैमा अघि छ । तर कुल मतमा भने दुवै दल अघिल्लाभन्दा घाटामा छन् । 

२०६४ सालमा कांग्रेसले २२ लाख ६९ हजार ८८३ मत पाएको थियो । जुन सदर मतको २१ दशमलव १४ प्रतिशत थियो । २०७० सालमा कांग्रेसले सङ्ख्या र स्थान दुवैमा वृद्धि गरेको थियो । २०७० मा कांग्रेसले २४ लाख १८ हजार ३७० मत पाएको थियो । जुन सदर मतको २५ दशमलव ५५ प्रतिशत   थियो । माओवादी केन्द्रले शक्ति गुमाउँदा कांग्रेसले २०७० सालमा शक्ति आर्जन गरेको थियो । 

२०७४ सालमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । जुन ३२ दशमलव ७७ प्रतिशत हो । यस्तै २०७९ सालमा कांग्रेसले २७ लाख १७ हजार २२५ मत पाएको छ । यो सदर मतको २९ दशमलव २९ प्रतिशत हो । कांग्रेसले यो पटक झन्डै चार प्रतिशत मत गुमाएको छ ।  

पहिलो पार्टी भए पनि यो पटक एमालेको मत पनि गुमेको छ । साढे दुई प्रतिशत मत एमालेले अघिल्लो चुनावको तुलनामा गुमाएको छ । २०६४ सालमा एमालेले २१ लाख ८३ हजार ३७० मत पाएको थियो । यो सदर मतको २० दशमलव ३३ प्रतिशत थियो । २०७० सालमा एमालेले २२ लाख ३९ हजार ६०९ मत पाएको थियो । जुन सदर मतको २३ दशमलव ६६ प्रतिशत थियो । लोकप्रिय मतमा २०७४ सालमा एमालेले फड्को मारेको थियो । २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । जुन कुल सदर मतको ३३ दशमलव २४ प्रतिशत हो । एमालेले २०७९ सालको निर्वाचनमा समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत पाएको छ । यो सदर मतको ३० दशमलव ६९ प्रतिशत मत हो । अघिल्लोको तुलनामा एमालेले दुई दशमलव ३३ प्रतिशत मत गुमाएको हो । 

माओवादीको ओरालो यात्रा

सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादीले पहिलो पटक चुनावमा भाग लिँदा प्रत्यक्षतर्फ करिब बहुमत स्थानमा जित हासिल गरेको थियो । प्रत्यक्षतर्फको २४० स्थानमा माओवादीले १२० स्थानमा जित हात पारेको थियो । समानुपातिकको ३३५ स्थानमा एक सय स्थान माओवादीले नै पाएको थियो । तर त्यसयता माओवादीको प्रत्यक्ष मात्र होईन लोकप्रिय मत पनि ह्वात्तै घटेको छ । 

माओवादीले २०६४ सालमा समानुपातिकमा ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । जुन सदर मतको २९ दशमलव २८ प्रतिशत थियो । २०७० सालमा त्यसको आधाभन्दा कम १४ लाख ३९ हजार ७२६ मत माओवादीले पाएको थियो । पपुलर मतको ओरालो लाग्ने क्रम माओवादीको २०७४ सालमा पनि कायमै रह्यो । २०७४ सालमा माओवादी केन्द्रले १३ लाख तीन हजार ७२१ मत पायो । जुन सदर मतको १३ दशमलव ६५ प्रतिशत मात्र हो । २०७९ सालमा माओवादी केन्द्रले मतदाता बढ्दा पनि ११ लाख ७५ हजार ६८४ मत मात्र पाएको  छ । सदर मतको यो ११ दशमलव ७३ प्रतिशत हो ।