• १३ साउन २०८१, आइतबार

घलेगाउँ : प्रकृति र संस्कृतिको सङ्गम

blog

कविता थापा 

आन्तरिक र बाह्य पर्यटकको गन्तव्य घलेगाउँ लमजुङको सदरमुकाम बेँसीसहरबाट उत्तर–पश्चिम २७ किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ लमजुङको क्होलासोथर गाउँपालिका–३ मा पर्छ । यहाँ घले र गुरुङ जातिको बाहुल्य छ । यहाँका मानिसले पाहुनालाई ईश्वरसमान व्यवहार गर्छन् । मिठो मुस्कानले स्वागत गर्छन् । 


यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, डा. हर्क हिमाललगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । डाँडाको थाप्लोमा झुरुप्प बस्ती र पृष्ठभूमिमा चम्किलो हिमाल घलेगाउँको विशेषता हो । पर्यटकले अत्यन्तै रुचाएको यो ठाउँ पुग्न बेँसीसहरबाट मोटरमा डेढ घण्टा र पैदल छ घण्टा लाग्छ । आँखै अगाडि ठिङ्ग उभिएको हिमाल, घले–गुरुङ संस्कृति र घाँटु नाचमा रमेर यहाँ पुग्ने जो कोहीको मन लठ्ठै हुन्छ । साँच्चै भन्ने हो भने प्रकृति र संस्कृतिको सङ्गम नै हो– घलेगाउँ ।