नेपालमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको थियो । युवा पुस्ताका नेता कसरी सरकारमा पुग्ने भन्ने जोडघटाउमा थिए । यसैबीच केही दिनअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका कलिला उमेरका दुई किशोरले सबैको ध्यान खिचे । सामाजिक सञ्जालमा उनीहरूको फोटो भाइरल बन्यो । ठीक त्यही समय नेपालमा भने सरकार कसले चलाउने भनेर हानाथाप थियो । ती दुई युवा त उदाहरणका पात्र मात्र हुन्, उनीहरूजस्ता कैयौँ किशोर, किशोरी बिहान, बेलुकाको छाक टार्नकै लागि आफ्नो परिवारसँग विछोड भई विदेश जान बाध्य छन् ।
यसको प्रमुख कारण बेरोजगारी नै हो । चुनावका समयमा युवालाई रोजगारी दिलाउने भनेर चर्को नारा र घोषणापत्र बनाउने दलका नेता सत्तामा पुगेपछि देश हैन, आफू कसरी सुखी र सम्पन्न हुने भन्नेमा मात्र ध्यान दिनुको परिणाम हो यो । यस पटक पनि युवाका लागि देशमै रोजगारी सिर्जना गर्ने भनेर ठूलो गफ दिने नेता नेतृत्व तहमा पुगिसकेका छन् तर सधैँ चर्को भाषण गर्ने व्यवहारमा उतार्न नसक्ने नेताबाट युवापुस्ताले झिनो आशा मात्र राखेका छन् ।
बर्सेनिजस्तो हुने सरकार परिवर्तनले युवाका मुद्दा खासै सम्बोधन भएको पाइँदैन । यस पटकको निर्वाचनपछि धेरै युवा राजनीतिक तहमा पुग्ने अपेक्षा गरिएको थियो तर सरकारको नेतृत्व भने पुरानै पुस्ताका नेतामा पुग्दा युवापुस्ता अझ निरास छन् । राजनीतिमा पुस्ता हस्तान्तरणको चर्को गफ छाँट्ने नेताले नै पुस्ता हस्तान्तरण नचाहँदा सत्ताको बागडोरमा पुनः पुरानै नेतृत्व हावी भएको अनुमान गर्न सकिन्छ । यसबाट आफ्नो पुस्ताको नेतृत्व पाउने आशामा बसेका युवा निराश बनेका मात्र छैनन्, राजनीतिमा भर्खरै स्थापित हुँदै गरेका युवा पनि निरास छन् ।
नेपालमा रोजगार त परको कुरा राहदानी लिनका लागिसमेत घण्टौँ लाइन र घुस दिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारको नेतृत्व तहमा पुगेका युवालाई पुनः पुरानै पुस्ताका नेतासँग लडेर युवाका सवाल स्थापित गर्नका लागि कठिन देखिन्छ तर पनि संसद्मा पुगेका धेरै युवामध्ये केही युवा सरकारको नेतृत्वमा पुग्ने र युवापुस्ताका सवालमा केही हुने झिनो आशा भने जीवितै छ । देशमा युवाका लागि सबैभन्दा मूल समस्याका रूपमा रहेको बेरोजगारी नै हो । युवाका लागि नयाँ सरकारले मुख्य एजेन्डा बनाउनुपर्ने नै रोजगारी हो । यसका लागि केन्द्रीय सरकारले युवाका लागि युवा उद्यम बनाउने, स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने, कृषि र पशुपालनमा अनुदानको व्यवस्था गर्ने, उद्योग र कलकारखाना स्थापना गर्ने, स्थानीय तहसम्मै युवाका लागि तालिमको अवसर दिनेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्नेछ ।
केन्द्रीय सरकारले युवालाई प्रदेश र स्थानीय सरकारको समन्वयमा युवालाई उद्यम बनाउने कार्य महत्वपूर्ण कार्यभार सम्झेर अगाडि बढाउनु जरुरी छ । विकासको मूल प्रवाहमा रहेका युवालाई प्रत्यक्ष सहभागी गराउनु भनेको स्थानीय सरकार मात्र नभई मुलुक नै समृद्धिको बाटोमा अगाडि बढ्नु हो । उद्यमशीलताले नै देशमा बेरोजगारी युवाको सहयोग भएर रोजगारी सिर्जना गर्छ । उद्यमीहरूको उद्यमशीलता र लगनशीलताले नै आज विश्वका धनी राष्ट्रको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको हो । राज्यले स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेको भए पनि धेरै स्थानीय तहले यो लागू गर्न सकेका छैनन् । जसका कारण युवाले स्थानीयस्तरमै उत्पादित सामग्रीले बजार नपाउने र आफ्नै स्थानीयस्तरमा बाहिरबाट आयातित वस्तुको उपभोग बढ्दो क्रममा रहेको छ ।
नेपाल एक कृषिप्रधान देश हो, हामी सबैलाई थाहा छ तर यहाँका खेतीयोग्य जमिन बाँझो छन् । सरकारको राम्रो साथ नपाउँदा खेतीयोग्य जमिन छाडेर युवा खाडी मुलुकमा जान बाध्य छन् । स्थानीयस्तरमै पनि धेरै युवाले कृषि र पशुपालनको क्षेत्रमा काम गरेर आत्मनिर्भर हुन चाहेका हुन्छन् तर उनीहरूसँग लगानी गर्न आर्थिक अभाव हुन्छ । जसका कारण उनीहरू आफ्नो गाउँ र देश नै छाडेर विदेश जान बाध्य हुने गरेका छन् । सरकारले कृषि र पशुपालनमा अनुदानको व्यवस्था गरेर युवाका लागि नेपालमै बस्ने वातावरण बनाउनुपर्छ ।
युवा पुस्तालाई रोजगारका लागि प्रचुर सम्भावना रहेको उद्योग, कलकारखाना क्षेत्रमा हो । बन्द रहेका ठूला उद्योग कलकारखानालाई खुलाउन तदरुकता देखाएमा पनि युवालाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । स्थानीय स्तरदेखि नै सानादेखि केन्द्रमा ठूला उद्योग सञ्चालनले पनि रोजगारी दिलाउन सकिन्छ । युवालाई स्थानीय स्तरमै दिन सकिने विभिन्न तालिमका अवसरसमेत प्रदान गरेर युवालाई प्राथमिकतामा राख्न सकिन्छ । यसका साथै विदेशबाट फर्किएका युवा जमातलाई विदेशमा सिकेर आएको ज्ञान, सीपलाई सदुपयोग हुने खालको व्यापार, व्यवसायमा लगाएर उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ ।
खेलकुद र पर्यटन क्षेत्रबाट पनि रोजगार उन्मुख बनाउन सकिन्छ, त्यतातर्फ पनि सरकारले ध्यान दिनु अत्यावश्यक छ । खेल क्षेत्रमा राज्यले प्राथमिकतामा राखेर युवालाई त्यसतर्फ आकर्षित गर्दा राज्यले स्टार खेलाडी उत्पादन गर्न सक्छ; जसले युवालाई अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा देश परिचित गराउन मद्दत पु¥याउँछ । पर्यटकीय गन्तव्यको पहिचान गर्नुका साथै युवा पुस्तालाई पर्यटकीय क्षेत्रमा घुमफिरमा आउने पर्यटकका लागि होटल एवं होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्नुका साथै रोजगारीको अवसर सिर्जना गर्ने कार्यमा पनि नयाँ सरकारको प्राथमिकता जरुरी छ ।
राम्रो अध्ययन गरेका युवा पनि आफ्नो योग्यता र दक्षताअनुसारको जागिर नपाएर पनि भौँतारिइरहेका हुन्छन्, त्यसका लागि पनि सरकारले युवाको योग्यता, क्षमताअनुसारको जागिरका लागि सरकारले मापदण्ड बनाएर कसको विज्ञता के छ, त्यसैअनुरूपको जागिरको व्यवस्थापन गरेमा युवामा जाँगर पलाउनेछ । रोजगारीपछिको मूल समस्या भनेको शिक्षा बनेको छ । कैयौँ युवापुस्ता आफ्नो शैक्षिक योग्यताकै लागि पनि विदेश भौँतारिन बाध्य छन् ।
नेपालमा गुणस्तरीय शिक्षा प्रणाली विकासका लागि विभिन्न सुधारका उपाय अपनाउनुपर्ने देखिन्छ। विश्वविद्यालयबाट प्रवाह गरिने शिक्षा वैज्ञानिक, खोजमूलक र अनुसन्धानमूलक बनाउन आवश्यक छ । विश्वविद्यालयका पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने देखिन्छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि जाने युवाबाट नेपालको ठूलो अर्बौँ रकम विदेश पुगिरहेको छ । ती विद्यार्थीलाई कसरी रोक्ने भन्नेतर्फ सरकारको चासो रहे पनि ठोस कदम चाल्न सकेको देखिँदैन । यसका लागि पनि यो सरकारले उचित कदम चालोस् भन्ने युवाको अपेक्षा छ । यसरी अध्ययनका लागि विदेश पलायन भएकालाई देशमा फर्काउन ठोस कार्यक्रम छैन ।
युवा फर्काउने महत्वपूर्ण माध्यम रोजगारी नै हो । विदेशमा लाखौँ खर्चेर नेपाल फर्केर थोरै तलबमा काम गर्न कोही युवा पनि चाहँदैनन् । त्यसैले सकेसम्म नेपालमै राम्रो शिक्षाको व्यवस्था गर्ने र विदेश पुगेका युवालाई आकर्षक ‘जब’को ग्यारेन्टी गरेर नेपाल फर्काउनुपर्ने अत्यावश्यक छ । युवालाई आफ्नै देशमा शिक्षा दिलाउनका लागि युवाले चाहे र खोजेजस्तो विषय पढाउने व्यवस्था गर्ने, व्यावहारिक शिक्षामा जोड दिने, युवाका रोजाइअनुसारका विषयको अध्यापन गराउने विश्वविद्यालयको स्थापना गर्ने, प्राविधिक विषयलाई प्राथमिकतामा राख्नेलगायतका कार्य सरकारले गरोस् भन्ने आमयुवाको चाहना छ ।