• २० असोज २०८१, आइतबार

कच्ची सडकले सुके पानीका मुहान

blog

बैतडी समाचारदाता

बैतडी, पुस १५ गते । पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा बैतडीका दस ठाउँमा पानीका मुहान सुकेका छन्। ग्रामीण क्षेत्रमा कच्ची बाटोको ट्र्याक खोल्न डोजरको प्रयोग हुने गरेको छ। यस्ता मेसिनले कटान गरेका माटो जथाभावी फाल्दा पानीका मुहान सुकेका हुन्।

पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानीय तहमा खोलाबाट दसवटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ। लिफ्ट प्रविधिबाट अहिले बैतडीको दशरथ चन्द नगरपालिका–२, देहिमाडौँ, पाटन नगरपालिकाको गैराखान, मेलौली नगरपालिकाको मेलौली, सिगास गाउँपालिका–३ को लगन र दोगडाकेदार गरेर दसवटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो। उहाँका अनुसार बैतडीमा खानेपानीका मुहान सुक्ने गति भयावह रहेको छ। पानीका मुहानमा असर नपर्ने गरी सडक निर्माण हुन जरुरी छ। 

डोजरकै कारण दशरथ चन्द नगरपालिका–२, देहिमाडौँमा खानेपानीका मुहान सुकेका छन्। माटोले पुरिएको खोलाको मुहान देखाउँदै स्थानीय पूर्णबहादुर बोहराले भन्नुभयो, “दुई–तीन वर्षअघि कलकल बग्ने भट्टाड खोलाको पानी अहिले सुकेको छ। माछा भेटिने यो खोला अहिले सुक्खा बगरमा परिणत भएको छ। खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ।”

जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको स्थानीयको ठम्याइ छ। गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको देहिमाडौँवासीले बताएका छन्। डोजरका कारण बैतडीको ग्वाल्लेक संरक्षित वन र सिगास संरक्षित वनमा रहेका पानीका मुहान सुक्दै गएका छन्। वन विनाश बढ्दो छ। 

बैतडी सदरमुकामका लागि खानेपानीको आपूर्ति हुँदै आएको ग्वाल्लेक संरक्षित वनबाट आउने पानी घटेको साना सहरी खानेपानीका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो। ग्वाल्लेक संरक्षित वन र सिगास संरक्षित वनमा स्थानीय सरकारले जथाभावी डोजर चलाएर सडक खन्दा संरक्षित वनसमेत सङ्कटमा परेको अनुमान स्थानीयवासीको छ। 

बैतडीका स्थानीय तह र नेताका डोजरले जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सङ्कटमा परेको नागरिक समाज बैतडीका गणेश ठकुराठीले बताउनुभयो। उहाँले भन्नुभयो, “चुनाव जितेपछि नेताले आफैँले डोजर किनेका छन्। पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा पानीका मुहान सुक्न थालेका छन्।” जथाभावी डोजर चल्दा मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीको मुहान सुकेका छन्। पानी अभावमा टाढाको खोलाबाट घोडामा पानी बोकेर होटल सञ्चालन गर्नु परिरहेको मेलौली नगरपालिकाका होटल व्यवसायी विजयसिंह नायकले बताउनुभयो।

मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदीबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण गर्न लागिएको डिभिजन खानेपानी कार्यालय बैतडीले जानकारी दिएको छ। डिभिजन खानेपानी कार्यालय बैतडीका अनुसार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा खानेपानीको चरम समस्या हुने गरेको छ।