• २० असोज २०८१, आइतबार

जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा पनि असर

blog

जलवायु, लैङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी अध्ययन प्रतिवेदनमा सार्वजनिक कार्यक्रम । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, पुस १४ गते ।  कैलालीका चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिका चार वडामा छ महिनासम्म गरिएको एक अध्ययनले जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको देखाएको छ । 

जलवायु परिवर्तनले समयमा वर्षा नहुने त्यसले गर्दा खेतीपातीमा असर गर्ने, बाढी, पहिरो, असिनापानीले पनि खेतीपाती नष्ट हुने र उपयुक्त खानपान नपाउँदा प्रजनन स्वास्थ्यमा समस्या परेको अध्ययनमा उल्लेख छ । 

चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाले फाया नेपाल र आइपास संस्थाको सहयोगमा जलवायु, लैगिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी गरिएको सो अध्ययनले महिलाको प्रजनन स्वास्थ्य राम्रो बनाउन स्थानीय अनुकूलन योजना प्रभावकारी रुपमा लागू गर्नु पर्ने सुझाव पनि दिएको छ । 

जलवायु परिवर्तनले उत्पन्न हुने प्राकृतिक विपत्तिबाट जोगिन महिलाहरु नै बढी सक्रिय हुन पर्ने भएकोले पनि प्रजनन स्वास्थ्यमा समस्या आउने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन बुधवार धनगढीमा सार्वजनिक भएको हो । प्रतिवेदनमाथि टिप्पणी गर्दे चुरे गाउँपालिकामा अध्यक्ष चक्रबहादुर बोगटीले अध्ययनले दिएका सुझाव अनुसार योजना बनाएर अघि बढ्ने बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पनि प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नका लागि वार्षिक योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । बाह्य परामर्शदाता सुजन कार्कीको समूहले गरेको अध्ययनमा महिलाको प्रजननमा असर पर्न नदिनका लागि खानेपानीको धारा, कुटानी पिसानी गर्ने मील बस्ती वा घर नजिकै बनाउनु पर्ने सुझाव दिएको छ । यस्तै गरेर परम्परागत चुलोले महिला र महिलाको पेटका रहेको शिशुलाई समेत असर गर्ने भएकोले सुधारिएको चुलोमा जोड दिनु पर्ने बताएको छ । 

सुधारिएको चुलोले महिला र बालबालिकाको स्वास्थ्यमा असर त हुन्न नै वनजंगल पनि जोगाएर जलवायुलाई पनि ठिक ठाउँमा राख्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै गरेर महिलालाई तालिम दिएर रोजगारी सृजना गर्नुपर्ने, नगदे वाली लगाउन प्रेरित गर्नुपर्ने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि अध्ययन प्रतिवेदनले दिएको छ । 

सो अध्ययन चुरे गाउँपालिकाका वडा नम्बर १ र ४, धनगढी उपमहानगरपालिकाका १५ र १७ का १८५ जना महिलामा गरिएको थियो । अध्ययन १८ देखि ४९ र ४९ वर्ष माथिका महिलामा गरिएको थियो । 

 यही क्रममा चुरे गाउँपालिकाका वडा नम्बर १ र ४ मा जलवायु परिवर्तनका सन्द्र्धभमा स्थानीय अनुकूलन योजना अन्तर्गत १३० घरमा सुधारिएको चुलो दिइएको र धनगढी उपमहानगरपालिकाका वडा नम्बर १७ का ७८ घरमा पनि चुलो दिने योजना रहेको फाया नेपालका कार्यक्रम संयोजक मानबहादुर डाँगीले बताउनुभयो । 

उहाँका अनुसार महिलाहरूलाई स्वास्थ्य सेवा लिन गएको बेला सजिलो होस भनेर चुरे गाउँपालिकाका वडा नम्बर १ र ४ मा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चार वटा चर्पी बनाइएको छ । भने अनिच्छित गर्भपतनका लागि सजिलो होस भनेर स्वास्थ्यकर्मीलाई तालिम पनि दिइएको छ । यस्तै गरेर वडा नम्बर १ मा दुई कोठाको गाउँघर क्लिनिक पनि बनाइएको छ ।