• १३ साउन २०८१, आइतबार

सामाजिक सञ्जालको प्रयोग

blog

एक्काइसौँ शताब्दीमा स्मार्ट फोन र सोसियल साइट्सको प्रयोग अब प्रायः सबै उमेर र हरेक क्षेत्रका पेसा व्यवसायमा जरुरी भइसकेको छ। यसमा भएका एप्स र सोसियल साइट्स, जिन्दगीका महत्वपूर्ण हिस्सा भइसकेका छन्। विशेषतः सोसियल साइट्स (सामाजिक सञ्जाल) लाई मनोरञ्जन र समाचार संयन्त्रका रूपमा मात्र होइन, स्ट्याटसको रूपमा समेत हेर्न थालिएको छ। कसका कति फलोवर छन्, कति लाइक आउँछन् के कमेन्ट आउँछ, कस्तो कमेन्ट आउँछ, यो होडमा अहिलेको जेनेरेसन अभ्यस्त भइसकेको छ। यसैको फाइदा उठाएर सोसियल साइट्सले आफ्नो व्यापारलाई अगाडि बढाइरहेका छन्।

अहिले हरेक मानिसहरू साना/साना भिडियोहरूमा रमाउने प्रचलन बढेको छ। समय बिताउन भन्दै विभिन्न साइट्स चलाउने बानी हरेक व्यक्तिका लागि अहिले अत्यन्त सामान्य भइसकेको छ। तर सामाजिक सञ्जालले तपाईं हामीलाई एक्लाइरहेको छ या अझै स्मार्ट बनाइरहेको छ, यो विचार गर्न जरुरी छ। सामाजिक सञ्जालको प्रयोग चाहे त्यो महत्वपूर्ण मिटिङ होस्, सार्वजनिक क्षेत्र होस्, कुनै विवाहको पार्टी होस्, यो सँगै खाना खाने अर्थात् साथी/ साथीबीचको भेटघाटको समय नै किन नहोस् निर्वाध प्रयोग भइरहेको छ। अझ त्यति मात्र होइन परिवारका सदस्य सँगै बसेर कुराकानी गरिरहेको पारिवारिक जमघट वा खाना खाइरहेको समयमा समेत सबैजना आ–आफ्नो मोबाइलमा नै व्यस्त भएको दृश्य अहिले अत्यन्त सामान्य भइसकेको छ। जसले गर्दा त्यस्तो समयमा गरिने महत्वपूर्ण विषयको गाम्भीर्यतालाई नै सङ्कुचित गरिदिएको छ। 

साधारण रूपमा सर्वेक्षण गर्ने हो भने तपाईं हामी दिनको कति घण्टा मोबाइलको स्क्रिनमा हेरेर बिताउने गरेका छौँ हेक्का गर्नुपर्ने आवश्यकता भइसकेको छ। कतै हामी कम्युनिकेसन र मनोरञ्जन गर्ने नाउँमा एक आपसमा दूरी त बढाइरहेका छैनौँ ? सामाजिक सञ्जाल कतै हामी र हाम्रा आफन्तहरू बीचको दूरी र विग्रहको कारण त बनिरहेको छैन यो प्रश्न अहिले अत्यन्त महत्वपूर्ण बनेको छ।  मानिस एक सामाजिक प्राणी हो। उसलाई आफ्नो जीवनयापनका लागि समाजको आवश्यकता पर्छ। जुन स्वाभाविक प्रक्रिया हो। तर स्मार्टफोन र सोसियल साइट्सले हरेक व्यक्तिलाई समाजबाट एक्लाएको मात्र छैन, डिप्रेसनतर्फ समेत धकेलिरहेको छ। हामी कुनै पनि काम मोबाइल साइडमा राखेर गर्न नसक्ने भइसकेका छौँ। छिन/छिनमा मोबाइलमा बज्ने सोसियल साइट्सका नोटिफिकेसन र छिन/ छिनमा मोबाइल हेरिराख्ने बानीले हाम्रो ‘कन्सन्ट्रेसन पावर’ घटाएको छ। सामाजिक सञ्जालका बेफाइदालाई सूचीकृत गर्ने हो भने धेरै छन्। त्यसको अर्थ सामाजिक सञ्जालका असल पक्ष नै छैनन् भन्ने होइन। 

मोबाइल र सोसियल साइट्सले व्यक्तिको कन्सन्टे«सनमा कमी ल्याएको छ। सामाजिक सञ्जालले व्यक्तिलाई सामाजिक रूपमा टाढा बनाउँदै लगेको छ। हरेक व्यक्ति मोबाइलसँग एक्लै हराउने कार्यले पारिवारिक सम्बन्धमा दूरी बढ्न थालेको छ। श्रीमान्ले श्रीमतीसँग र श्रीमतीले श्रीमान्सँग बोल्न फुर्सद नहुनाले धेरै डिभोर्स र सु–साइटसका घटना भएका छन्। त्यति मात्र होइन, बाबुआमाले आफ्ना छोराछोरीलाई पर्याप्त समय नदिँदा छोराछोरीसमेत सामाजिक सञ्जालमा अभ्यस्त हुने बानीले परिवार र समाजबाट एक्लिँदै कुलततर्फ जाने सम्भावना बढिरहेको छ। बिस्तारै समाज आत्मकेन्द्रित बन्ने दिशातर्फ उन्मुख देखिएको छ। 

अर्काेतर्फ, मोबाइल र सामाजिक सञ्जालले गर्दा समयलाई पूर्ण रूपमा बेवास्ता गर्न थालिएको छ। जसले समयको महत्व घटाएको छ। सोसियल साइट्समा पस्केका गलत र भ्रमित पार्ने सामग्रीका कारण अरूसँग तुलना गर्ने र तनावमा रहने अवस्था सिर्जना गरिदिएको छ। सोसियल साइट्समा पस्किएका नेगेटिभ सामग्री हेर्ने र ग्रहण गर्नाले मानिसलाई डिप्रेसनतर्फ धकेलिरहेको छ। सोसियल साइट्सले मानिसको पढ्ने बानी समाप्त हुँदै गएको छ। हिजोका दिनमा घण्टौँसम्म पुस्तकालयमा बस्ने र ठूला ठूला किताबका ठेलीहरू पढ्ने र १० दिनमा महाकाव्य लेख्नेजस्ता विषय अब किंवदन्ती जस्तै बन्न पुगेका छन्। छोटा/छोटा सामग्री हेर्ने र पढ्ने बानीले अध्ययनको शैलीसमेत बदलिएको छ। 

अर्काेतर्फ, सामाजिक सञ्जालमा कुन उमेर गु्रपको मानिसहरूका लागि कुन प्रकारको सामाजिक सञ्जाल प्रयोग गर्न दिने र कस्ता प्रकारका सामग्रीमा पहुँच दिने भन्ने टुङ्गो र सरकारी तवरबाट नियमन नहुँदा साना बालबालिकाको बाल मानसपटलमा गम्भीर असर परिरहेको छ। सामाजिक सञ्जालमा कुन प्रकारका सामग्री राख्न पाइने र कस्ता प्रकारका सामग्री राख्न नपाइने भन्ने नियम नभएको कारण सामाजिक सञ्जालका गलत र भ्रामक सामग्री प्रस्तुत गर्ने प्लेटफर्म बन्न थालेको छ। गलत सूचनाले समाजलाई नकारात्मक पक्षमा लगेको छ। व्यक्तिका प्राइभेट विषयको गोपनीयता समाप्त भएको छ। विश्वास लाग्दैन भने एक छिन वाइफाइ अफ गरेर सोसियल साइट्स नचलाई बस्नुहोस्, त्यतिबेला तपाईं आफू एडिक्ट भए नभएको थाहा हुनेछ। हुन त सामाजिक सञ्जालका बेफाइदा मात्र छैनन्, फाइदा पनि धेरै छन्। अहिले स्मार्ट फोन र सामाजिक सञ्जालले हरेक क्षेत्रमा क्रान्ति ल्याइदिएको छ। 

नेटवर्किङ विदआउट बोर्डर : 

सामाजिक सञ्जालले सीमारहित नेटवर्किङको अवस्था उपलब्ध भएको छ। जसले तपाईंलाई सीमारहित नेटवर्कको निर्माण गर्न सजिलो बनाएको छ। जुन कुरा सामाजिक सञ्जालको देन हो। 

तत्काल समाचार र सूचना प्राप्ति :

सामाजिक सञ्जालको कारण संसारभरको सूचना र समाचार तत्काल तपाईंले प्राप्त गर्न सक्नुहुन्छ। जुन अवस्था सामाजिक सञ्जालकै कारण सिर्जना हुन पुगेको हो। 

मार्केटिङ च्यानल :

कुनै व्यापार व्यवसायका लागि एक्काइसौँ शताब्दीको उपलब्धिको रूपमा आएको सामाजिक सञ्जाल ठूलो मार्केटिङ च्यानल बनिरहेको छ। जसले तपाईंको व्यापार व्यवसायलाई उन्नत र विकसित गर्न मद्दत पु¥याइरहेको छ। यसका साथै सामाजिक सञ्जाल अहिले संसारभर क्रान्ति सिर्जना गर्ने गतिलो माध्यम बन्न पुगेको छ। सामाजिक सञ्जाल विश्वभर सचेतना जगाउने र परिवर्तन गर्ने माध्यम बन्न पुगेको छ। 

एक्सचेन्ज अफ आइडिया :

सामाजिक सञ्जाल अहिले विश्वभर हरेक कुनामा रहे पनि आइडिया सेयर गर्ने गतिलो प्लेटफर्म बन्न पुगेको छ। सामाजिक सञ्जालमा प्रस्तुत भएका विभिन्न आइडियाका कारण संसारको एउटा कुनाबाट अर्काे कुनामा यस्ता आइडिया आदानप्रदान भइरहेका छन्। यो सामाजिक सञ्जालकै देनको रूपमा लिन सकिन्छ।

हातहातमा सानो कम्प्युटर :

यथार्थमा भन्ने हो भने अहिले हरेक व्यक्तिको हातमा मोबाइलको रूपमा सानो कम्प्युटर आइसकेको छ। मोबाइलले कम्प्युटरबाट गरिने सम्पूर्ण काम गर्न सकिन्छ। जसले गर्दा संसारका सबै प्रकारका सूचना तपाईंको एक क्लिक पर रहेका छन्। तपाईंको एक क्लिकमा संसारभर कसैसँग, कुनै पनि ठाउँमा र कुनै पनि बेला तत्काल सम्पर्कमा रहन सक्नुहुन्छ। सामाजिक सञ्जालले मानिसको जीवनशैलीमा आमूल परिवर्तन गरिदिएको छ। मानिसको जीवनमा क्रान्ति ल्याइदिएको छ।  सामाजिक सञ्जालको प्रयोग उचित र सही ढङ्गले प्रयोग गर्न सक्नु भयो भने यसले तपार्इंलाई हरेक क्षेत्रमा अपडेट गर्नेछ । यदि गलत प्रयोग गर्नुभयो भने सामाजिक सञ्जाल तपाईंको दुःखको मुख्य कारण पनि बन्न सक्नेछ। तसर्थ, एक्काइसौँ शताब्दीको उपहारको रूपमा आएको आधुनिक सञ्चार प्रविधिलाई अस्वीकार गर्ने र यसबाट टाढा रहन सक्ने अवस्था छैन। तर सामाजिक सञ्जाललाई नियमन गर्ने र यसको उचित प्रयोग गर्नका लागि राज्यले नै आममानिसलाई सचेत र सजग गर्ने पहल गर्न जरुरी छ।