• १९ असोज २०८१, शनिबार

संघद्वारा ६ जना गुरूङ पत्रकार पुरस्कृत

blog

गोरखापत्र अनलाइन 

काठमाडौ, पुस १२ गते । तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’ बाट विभिन्न विधामा  ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो । 

‘छत्रमानसिंह कमला गुरूङ पत्रकारिता पुरस्कार’ बाट कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ (पोखरा) लाई पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशी जनही २० हजार एक रहेको छ । 

यस्तै, ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट टिभी कालिकाकी गीता गुरूङ (चितवन) लाई प्रदान गरिएको छ ।  ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’ ग्यालेक्सी फोरके टेलिभिजनका देवराज गुरूङ (ताप्लेजुङ) लाई प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् तमू सञ्चारकर्मी संघ नेपालका पूर्वअध्यक्ष डण्ड गुरूङले जानकारी दिनुभयो । 

तमू ल्होसार मूल आयोजक समितिले उपलब्ध गराउँदै आएको  ‘तमू पत्रकारिता पुरस्कार पुरस्कार’ भने बिएफबिएस रेडियोका धनजंग गुरूङ (काठमाडौं) लाई प्रदान गरिएको छ । ‘तमू आदिकवि हर्क गुरूङ स्मृति पुरस्कार’ मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर) लाई प्रदान गरिएको छनौट समितिका संयोजक गुरूङले बताए । शीलाले पाउने पुरस्कार भने माघ ११ गते स्याङ्जामा हुने कार्यक्रममा प्रदान गरिने संघका केन्द्रीय सचिव चित्र  ‘सोल्टी’ गुरूङले जानकारी दिनुभयो । 

कास्कीका गुरूङ र श्रेष्ठबाहेक बाँकी सबैले पाएको पुरस्कारको राशी जनही १० हजार एक रूपियाँ रहेको छ । पुरस्कृतहरुलाई आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङमार्फत कार्यक्रमबीच पुरस्कृत गरिने भएको छ ।  प्रमुख अतिथि गुरूङले तमू पत्रकारको लागि पुरस्कार स्थापना गरिदिने उद्घोष गरेका छन् । कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङको उपस्थिति थियो ।