• १९ असोज २०८१, शनिबार

महिलाका सवालमा महिला सांसद एकजुट हुुने

blog

प्रतिनिधि सभाका नवनिर्वाचित महिला सदस्यहरूसँगको राजनीतिक छलफल कार्यक्रम सहभागीहरू । तस्बिर : कविता थापा

 काठमाडौँ, पुस  १२ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेत्रीहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।     

मिडिया एड्भोकेसी ग्रुप (म्याग) र साथी संस्थाले आज आयोजना गरेको  ‘आगामी संसदमा महिलाको सहभागिता र भूमिका’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न दलका महिला नेत्रीले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

उहाँहरूले विशेष अवस्थामा बाहेक पार्टीको सिद्धान्तमा असर नपर्ने गरी राष्ट्रहितका साझा मुद्दामा सँगसँगै ऐक्यबद्ध भएर आफ्नो विवेकले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।     

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सामाजिक र महिला हितका मुद्दामा विगतमा पनि संसदमा आवाज उठाएको र यस पटक विभिन्न क्षेत्रको अनुभवसहित आउनुभएका महिला नेतृत्वबीच ऐक्यबद्ध भएर काम गर्ने धारणा राख्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले आफू विगत ३३ वर्षदेखि सामाजिक सेवाको क्षेत्रमा काम गरेर राजनीतिमा आउनु सामाजिक व्यवस्था सुधारका लागि रहेको बताउनुभयो ।     

यस्तै, सांसद रेखा शर्माले संविधानमै व्यवस्था भए पनि समानुपातिकबाट नेतृत्वमा आउन पनि सङ्घर्ष नै गर्नुपर्ने अनुभव सुनाउँदै नेपालमा केही समयका लागि राजनीति र हरेक क्षेत्रमा महिला, यौनिक अल्पसङ्ख्यक, दलित, सिमान्तकृतका लागि आरक्षण र कोटा आवश्यक प्रक्रिया रहेको बताउनुभयो । 

सांसद रञ्जु झाले महिलालाई अगाडि बढ्न विगतमा सामाजिक, आर्थिकलगायत विविध कारण कठिनाइ भए पनि अबको मुद्दामा महिलाको आर्थिक सशक्तिकरणको आवाज बढी उठाउन जरूरी रहेको विचार व्यक्त गनुभयो ।     

 साथी संस्थाका पूर्वअध्यक्ष तथा सिड कमिटीकी सदस्य बन्दना राणाले राजनीतिमा महिलाले सहभागीता जनाएका विश्वका ४८ राष्ट्रमा सन् २०२१ मा भएको सर्वेक्षणमा २८ दशमलव ६ प्रतिशत महिला नेतृत्वमा पुगेका छन् भन्नुभयो । 

नेपालमा संविधानले नै राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको र प्रत्यक्ष निर्वाचनमा पनि महिलाले प्रतिस्पर्धा गरेर आउने हिम्मत देखाउनु उपलब्धि भएको उहाँको भनाइ छ । 

उहाँले राजनीतिमा मात्र नभर्इ राज्यको हरेक तहमा कम्तीमा ३३ प्रतिशत र समानताका लागि ५० प्रतिशत नै सहभागिता सुनिश्चित गर्ने वातावरण तयार गर्न नेतृत्व तहमा पुगेका महिलाबीच एकता हुन आवश्यक रहेको धारणा राख्नुभयो ।  

 म्यागका संस्थापक अध्यक्ष तथा पत्रकार बविता बस्नेतले सदनभित्र आमनागरिकको प्रतिनिधित्व गर्दै पुग्ने महिला नेतृत्वबीच साझा मुद्दामा सँगै रहेर काम गर्न आग्रह गर्दै विगतमा जस्तै सदनबाहिर सञ्चार र सामाजिक क्षेत्रबाट पूर्ण समर्थन रहने बताउनुभयो । रासस