घोराही समाचारदाता
घोराही, असार १७ गते । ठेक्का सम्झौता अनुसार दाङको लमही नगरपालिका–४ मा निर्माण हुन थालेको प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आइसक्नुपर्ने हो तर विभिन्न कारण देखाउँदै लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणमा ढिलाइ हुँदै आएको छ ।
२०८० असार २३ गतेभित्र निर्माण सक्ने गरी २०७७ फागुन २८ गते ठेक्का सम्झौता भएको ट्रमा सेन्टरको दोस्रो पटक थप गरिएको म्याद सकिँदा समेत निर्माण पूरा हुन सकेको छैन । सम्झौता मितिमा काम पूरा नभएपछि २०८१ चैत ३० गतेसम्म पहिलो पटक म्याद थप गरिएको थियो । उक्त समयमा पनि काम नभएपछि दोस्रो पटक २०८२ वैशाखलाई थप गरिएको थियो तर उक्त समयमा पनि निर्माणको काम सम्पन्न हुन नसकेको सहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ ।
५० शय्याको ट्रमा सेन्टर निर्माणको काम लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँले गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङले भवन निर्माणको काम भइरहे पनि समयमा भुक्तानी नहुँदा काममा ढिलाइ भएको दाबी गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेसँगै अन्य बिरामीलाई उपचार गर्ने करिब २२ कट्ठा क्षेत्रफलमा चार तलाको ट्रमा सेन्टर बन्ने योजना रहेको छ ।
सहरी विकास तथा भवन कार्यालयले लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिसँग भ्याटसहित २१ करोड ९३ लाख ३७ हजार ५३६ रुपियाँमा भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी वामदेव खनालले ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञ डाक्टर, न्युरो सर्जन, जनरल सर्जन, एनेस्थेसियासहित नर्सिङ र पारामेडिक्स टिम रहने गरी निर्माणको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार जति सक्यो चाँडै भवन निर्माण गरेर ट्रमा सेन्टरलाई सञ्चालन गर्नुपर्ने आवश्यकता रहे पनि आर्थिक समस्याका कारण ढिलाइ भएको छ ।
सूचना अधिकारी खनालले भन्नुभयो, “ठेक्का सम्झौता मितिमै काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकिता गर्दा समेत आर्थिक समस्याकै कारण निर्माणमा ढिलाइ भइरहेको छ ।” उहाँले ठेक्काको म्याद सकिएपछि २०८२ वैशाख १६ गते निर्माण कम्पनीको तर्फबाट म्याद थपका लागि निवेदन कार्यालयमा परेको र उक्त निवेदनको फाइल तयार पारेर प्रदेश मन्त्रालयमा कार्यालयले पठाएको बताउनुभयो ।
निर्माण कम्पनी लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि तामाङले करिब ८५ प्रतिशत निर्माणको काम सकिएको र ट्रमा सेन्टरको बाँकी काम आगामी वर्ष हुने बताउनुभयो ।