• १७ असार २०८२, मङ्गलबार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार १७ गते । बाँकेको राप्तीसोनारी–९, ढकेरीस्थित झिझरी महिला सामुदायिक वनमा एकै दिन आठ हजारभन्दा बढी बिरुवा रोपिएका छन् । 

राष्ट्रिय वृक्षरोपण दिवस–२०८२ का अवसरमा नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रूपा विक र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारको उपस्थितिमा विभिन्न प्रजातिका आठ हजारभन्दा बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । 

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले डिभिजन वन कार्यालय बाँकेको आयोजनामा भएको सो वृक्षरोपण कार्यक्रममा ६.३६ हेक्टरमा वृक्षरोपण गरिएको बताउनुभयो । उहाँले वृक्षरोपण क्षेत्रको परिधि एक हजार १३८ मिटर रहेको जनाउँदै सो क्षेत्रफलमा आठ हजार बिरुवा वृक्षरोपण गरिएको बताउनुभयो । रोपिएका बिरुवामा खयर, सिसौ वीरेन्द्र फल, सतिसाल, अर्जन श्रीखण्ड (सेतो चन्दन) गोल्डमोहरलगायत रहेका छन् । 

कार्यक्रममा वृक्षरोपणको शुभारम्भ गर्दै नेपाल सरकार वन तथा वातावरण राज्यमन्त्री रूपा विकले वृक्षरोपण केवल वृक्षरोपणका लागि मात्र नभएर समुदायको उत्थानका लागि योगदान पुर्‍याउन जरुरी भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनले महिला, विपन्न, आदिवासीको कृषि, स्वास्थ्यमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै त्यसलाई कम गर्न पनि वृक्षरोपण जरुरी रहेको बताउनुभयो । 

लम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कलवारले प्रदेशका सबै स्थानीय तहले खाली तथा बाँझो जमिनमा वृक्षरोपणका लागि अभियान नै चलाउन अनुरोध गर्नुभयो । त्यस अवसरमा सामुदायिक वन उपभोक्ता समूहका सदस्य, वातावरण अभियन्ता र अन्य स्थानीयले सामूहिक रूपमा वृक्षरोपण गरेका थिए ।