• १९ असोज २०८१, शनिबार

सरकारको नयाँ समीकरणबारे जानकारी दिइएन : अध्यक्ष नेपाल

blog

अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, पुस १३ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठन एवम् समीकरणबारे यसअघि आफूहरुलाई जानकारी नदिइएको बताउनुभएको छ । 

मंगलबार नेकपा एसको सुदूरपश्चिम प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा आयोजना गरेको निर्वाचित सांसदलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जानकारी नै नदिई अरुको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नु भएको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए, हामीलाई थाहा छैन । हामीले भनिदिनपर्ने हो कि, हामीलाई बोलाइदिनपर्‍यो, सामेल गरिदिनु पर्‍यो भनेर । प्रचण्डजीको व्यवहारबाट दुखित छु । हाम्रो पनि कपाल यतिकै पाकेको त होइन, आत्तिने र मात्तिने कुराबाट जोगिनुपर्छ ।”

राजनीतिक घटनाक्रमलाई राम्ररी नियालेर विश्लेषण गरेर मात्रै अगाडि बढ्नुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “राजनीतिक अडानबाट किमार्थ हट्नु हुँदैन । हामीहरुकै त्याग, तपस्या र इमानले यहाँसम्म आएको छ । यसबीचमा जनतालाई कति शिक्षित बनाउन सक्यौं ? जनतामा कति गयौं ? कति उत्प्रेरित गर्न र जनमत वृद्वि  गर्न सक्यौं ?” 

एमालेको अहिलेको नेतृत्व आफूहरुकै मिहेनतको फल भएको तर जनताप्रति कम्युनिष्ट पार्टीको प्रभाव कम हुँदै गएको भनाइ उहाँले राख्नुभयो ।