• ४ जेठ २०८१, शुक्रबार

वित्तीय क्षेत्र माघदेखि अझ सहज हुन्छ

blog

काठमाडौँ, पुस ८ गते । मङ्सिर मसान्तसम्ममा देखिएको वित्तीय क्षेत्रको तुलनात्मक सुधारले माघमा पुग्दा अझै तीव्रता पाउने बताइएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाखर भट्टका अनुसार माघदेखि ब्याजदर वृद्धि नियन्त्रण र ऋण उपलब्धता अझै सहज हुने र मुद्रास्फीति पनि कम हुनेछ ।

समृद्धि फाउन्डेसनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यशाला गोष्ठीमा कार्यकारी निर्देशक डा. भट्टले विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको र यो क्रम थप गतिशील हुने बताउनुभयो । तरलताको अवस्था पनि सहज हुँदै गएको उहाँले बताउनुभयो । 

“हामी विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलनजस्ता चिन्ताका विषयबाट करिब मुक्त हुने अवस्थामा पुगेका छाँै । माघदेखि निजी क्षेत्रले सहज ऋण पाउने र मुद्रास्फीतिसमेत घट्दै जाने दिशामा छ,” उहाँले भन्नुभयो ।

पुस लागेसँगै बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा माग शून्यप्रायः रहनुले पनि तरलता सहजको सङ्केत गरेको उहाँको भनाइ थियो । ब्याजदरको अस्वाभाविक उतारचढाव रोक्न राष्ट्र बैङ्कले बेलैमा मापदण्ड तोकिदिएकाले अवस्था थप खराब हुनबाट जोगिएको दाबी उहाँको छ ।

कार्यशालामा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले भने बिग्रँदो आर्थिक अवस्थाको जोखिम निजी क्षेत्रमा मात्रै केन्द्रित गराइएको र त्यसले कैयाँै उद्यमी व्यवसायी थलिइसकेको बताउनुभयो । श्रेष्ठले आयात प्रतिबन्ध, चर्को ब्याजदर, चालू पुँजी कर्जा निर्देशिकाको कार्यान्वयनजस्ता व्यवस्थाले निजी क्षेत्रमाथि ठूलो प्रहार भएको आरोप लगाउनुभयो । “सानादेखि ठूला व्यवसायी सबै मारमा परेका छन्, पुसमा अन्त्यसम्ममा अवस्था अझै बिग्रन सक्छ,” उहाँले भन्नुभयो ।  

कार्यक्रममा होटल सङ्घ, नेपालकी अध्यक्ष सिर्जना राणाले पर्यटन क्षेत्रमा केही सुधार देखिए पनि त्यसलाई दिगो र अझै प्रगति उन्मुख बनाउन पर्यटन क्षेत्रमा दिँदै आएका पुनर्कर्जा सुविधा तथा अन्य सहुलियत केही समय आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा पूर्वअर्थ सचिव शङ्करप्रसाद अधिकारीले अर्थतन्त्रलाई राजनीतिक अस्थिरताको चक्रले प्रभावित पारिरहेको भन्दै राजनीतिक नेतृत्वले कर्मचारी व्यवस्थापन तथा नीतिगत स्थायित्वमा नै नकारात्मक दबाब सिर्जना गर्ने गरेको आरोप लगाउनुभयो ।