• ९ मंसिर २०८१, आइतबार

प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण ज्येष्ठ सदस्य रावलबाट

blog

सुदूरपश्चिम प्रदेशका ज्येष्ठ सदस्य मानबहादुर रावल । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, पुस ६ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भएको छ । निर्वाचन आयोगले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएपछि प्रदेश सभा सचिवालयले शपथ ग्रहणको तयारी थालेको हो । 

पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल रहनुभएको छ । उहाँ अछाम निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित हुनुभएको हो । 

६८ वर्षीय रावलले प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुनेछ । त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुनेछ । 

प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेश सभा सदस्य र ज्येष्ठ प्रदेश सभा सदस्यबाट अन्य सदस्यलाई शपथ ग्रहणको कार्यक्रम एकै दिन राखिएको सूचना अधिकारी जैशीले बताउनुभयो । प्रदेश सभा भवनको हलमै सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुने जनाइएको छ । 

प्रदेश सभा सदस्यको शपथ ग्रहणपछि प्रदेश सभा बैठक सञ्चालनको साथै प्रदेश सरकार गठनको कार्य प्रारम्भ हुनेछ । प्रदेश सभा सदस्यको शपथ ग्रहणपछि सर्वदलीय बैठक बसेर प्रदेश सभा बैठकको टुङ्गो लगाइने प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताउनुभयो । 

‘अहिले नै प्रदेश सभा बैठक मितिको टुङ्गो लागेको छैन’, उहाँले भन्नुभयो, ‘सदस्यहरूको शपथ ग्रहणपछि बस्ने सर्वदलीय बैठकले टुङ्गो लगाउनेछ ।’ सुदूरपश्चिम प्रदेश सभामा छ राजनीतिक दल र एक स्वतन्त्रको प्रतिनिधित्व रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा १९ सदस्यसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । 

यसैगरी, ११ सदस्यसहित नेकपा (माओवादी केन्द्र) दोस्रो ठूलो दल बन्दा १० सदस्यसहित नेकपा (एमाले) तेस्रो दल बनेको छ । सात सदस्यको प्रतिनिधित्व भएको नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ । चार सदस्यसहित नेकपा (एकीकृत समाजवादी) पाँचौँ स्थानमा रहेको छ । 

त्यस्तै, राप्रपा र स्वतन्त्रबाट एक–एक जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ । प्रदेश सभामा कुनै पनि दलको एक्लो बहुमत छैन । तर सरकार गठनका लागि बाम लोकतान्त्रिक गठबन्धन दलसँग बहुमत रहेको छ ।