ढाका, पुस ५ गते । देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ ।
उहाँले देशमा कृषिका आयोजनाहरूलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो ।
विश्वका कतिपय देशमा अहिले खाद्य सङ्कटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ ।उहाँले युनाइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरूलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्य असुरक्षाका समाचारहरू आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ ।
विश्वमा आर्थिक मन्दी देखिएको र यसका कारण खाद्यान्नको मूल्यमा पनि अत्यधिक मात्रामा वृद्धि भएकाले क्रयशक्ति कम भएका मानिसहरूले खाद्यान्न किनेर खान सक्ने अवस्था पनि नहुनसक्ने तर्फ सबैले सोच्नुपर्ने पनि उहाँले जोड दिनुभयो । रासस/सिन्ह्वा