• ९ मंसिर २०८१, आइतबार

शिक्षक मृत्यु प्रकरण : दशरथचन्द मार्ग अवरुद्ध

blog

शिक्षक धनबहादुर बिष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन माग गर्दै बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, पुस ५ गते ।
 बैतडीको पाटनमा मृत फेला पर्नुभएका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् । घटनाको निष्पक्ष छानबिन गरेर दोषी पक्राउको माग गर्दै स्थानीयवासी र विद्यार्थीहरूले प्रदर्शन गर्दै दशरथचन्द मार्ग अवरुद्ध गरेका हुन् ।

मङ्गलबार बिहानैदेखि बैतडीको पाटनका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ, सिउँडे, ठाँड, पाटन र खोड्पेलगायतका क्षेत्रमा स्थानीय र विद्यार्थीहरूले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । शिक्षक विष्टको हत्या भएको भन्दै दोषीको पहिचान गरी कारबाही हुनुपर्ने माग राखिएको छ ।

चार दिनअघि (शनिबार) बैतडीको श्रीकृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक विष्टको शव फेला परेको थियो । शवको पोस्टमार्टम गरिएको छ भने आफन्तले अझै शव बुझेका छैनन् । मृतकका परिवारले दोषीको पहिचान नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । मृत्यु हुनु एकदिन अगाडि (शुक्रबार) शिक्षक विष्ट कृष्ण माविकै शिक्षक र अन्यसँग पार्टीमा सहभागी भएका बताइएको छ । 

शिक्षक मृत फेला परेको चार दिनसम्म पनि दोषी पत्ता नलागेको भन्दै पाटन नगरस्तरीय नौ वटा शिक्षक सङ्गठनले नगरभित्रका विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न एक दिन विद्यालय बन्द गरिएको शिक्षक डीबी महराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “३४ वर्षसम्म शिक्षण सेवा गर्नु भएका शिक्षक धनबहादुर विष्टको मृत्युले शिक्षा जगतमा ठूलो क्षति भएको छ । दोषी पत्ता नागेसम्म हामी आन्दोलनमा उत्रिन्छौँ ।”

आन्दोलनमा सहभागी हुन बैतडीको खोड्पे बजारका स्थानीयलेसमेत एक घण्टा बजार बन्द गरेर शिक्षक विष्टको न्यायका लागि प्रदर्शन गरेका छन् । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ  । घटनाका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो । आन्दोलित पक्षसँग वार्ता गरेर अवरुद्ध सडकखण्ड सुचारु गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।