• ४ जेठ २०८१, शुक्रबार

तरलता सहज तर लगानी न्यून

blog

काठमाडौँ, पुस ५ गते । पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो । 

राष्ट्र बैङ्कका अनुसार आइतबारसम्म निक्षेप सङ्कलन ५२ खर्ब ५४ रुपियाँ पुगेको छ । यो एक दिनमै तीन अर्ब रुपियाँले बढेको हो । सोही दिन कर्जा लगानी भने ४७ खर्ब ५९ अर्ब रुपियाँ पुगेको छ । यस आधारमा वित्तीय संस्थाको तरलता चार खर्ब ९५ अर्ब रुपियाँ देखिन्छ । 

आइतबारसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.८६ प्रतिशत कायम भएको देखिन्छ । मौद्रिक नीतिको प्रावधानअनुसार बैङ्क तथा वित्तीय संस्थाले यो अनुपात ९० प्रतिशतसम्म लैजान सक्छन् । यो आँकडाले वित्तीय क्षेत्रमा निक्षेप सङ्कलन विस्तार भइरहेको देखाउँछ । नेपाल बैङ्कर्स सङ्घका अनुसार वाणिज्य बैङ्कमा मङ्सिरमा मात्रै ५७ अर्ब २२ करोड रुपियाँ निक्षेप थपिएको छ । नयाँ लगानीको वातावरण आकर्षक नभएको र बैङ्कमा ब्याजदर पनि आकर्षक रहेकाले बचतमा सर्वसाधारण पनि आकर्षित भइरहेको देखिन्छ । 

निक्षेप बढे पनि कर्जा लगानीको अवस्था भने सङ्कुचन भएको छ । मङ्सिरमा दुई अर्ब छ करोड रुपियाँ मात्रै वाणिज्य बैङ्कबाट बाहिरिएको छ । कात्तिकमा यस्तो निकास एक अर्ब २६ करोड रुपियाँ थियो । 

नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार ब्याजदर महँगो भएको र निजी क्षेत्र पनि खुम्चने अवस्थामा पुगेकाले ऋणको माग नै कम भएको हो । “महँगो ब्याजदरमा ऋण लिने इच्छा उद्योग व्यवसाय क्षेत्रले नदेखाएकाले ऋण प्रवाह नभएको हो । नेपाल राष्ट्र बैङ्कले कार्यान्वयन गरेको चालू पुँजी कर्जा मार्गनिर्देशनको कार्यान्वयनका कारण पनि ऋणको माग घटेको हुन सक्छ,” उहाँले भन्नुभयो । 

गत कात्तिक १ देखि कार्यान्वयनमा ल्याइएको यो मार्गनिर्देशनअनुसार पहिले लिएकै चालू कर्जालाई व्यवस्थित गर्नुपर्ने दबाब अहिले निजी क्षेत्र परिरहेको छ । 

मार्गनिर्देशमार्फत ओभरड्राफ्ट कर्जाको चक्रीय शृङ्खला रोक्ने र यथार्थमा आधारित बनाउन राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देश गरेको छ । अहिले बैङ्किङ क्षेत्रमा तरलता केही सहज भएपछि बैङ्कहरूले एकआपसमा सापटीका रूपमा प्रयोग गर्ने अन्तरबैङ्क ब्याजदर ७.१७ प्रतिशतमा रहेको छ । 

वर्तमान मौद्रिक नीतिले ब्याजदर व्यवस्थापनका लागि बैङ्कदर ८.५ प्रतिशत निर्धारण गरे पनि बैङ्कहरूबीच नै त्योभन्दा सस्तोदरमा सापटी आदानप्रदान भइरहनुले पनि चाप कम भएको देखाएको छ ।