• १० जेठ २०८१, बिहिबार

झापामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

blog

प्रतियोगिताको बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, पुस ४ गते । झापाको दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाईँ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगितामा विदेशी तीनसहित आठ टोलीको सहभागिता रहनेछ । 

भुटानी शरणार्थी शिविर बेलडाँगीबाट तेस्रो देश पुर्नवास भएर अ‍मेरिका गएका हुमागाईँको उही निधन भएपछि उहाँको सम्झनामा यहाँ गोल्डकप सुरु गरिएको जनाइएको छ । १२ वर्षअघि हुमागाईँको परिवार अमेरिका पुर्नवास भएको थियो । 

सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार अमेरिकामा गठन भएको जय हुमागाईँ स्मृति प्रतिष्ठानको आयोजनामा दमकको बेलडाँगीस्थित खेल मैदानमा गोल्डकप हुन लागेको हो । करिब २५ लाख रुपियाँ खर्चेर खेलमैदानलाई पुनर्निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष शिव हुमागाईँले बताउनुभयो ।

आफुहरुपनि यही शरणार्थी शिविरमा हुर्केको र बढेको जनाउँदै आफ्नो बुबाले आफ्नो जीवनकालको धेरै समय बिताएको क्षेत्रमा केही न केही काम गर्ने सोच अनुसार यो प्रतियोगिता गर्न लागिएको पनि हुमागाईँको भनाई छ । खेलकुदको माध्यमबाट हामीले एकले अर्कालाई जोड्ने प्रयत्न गरेका हौ, हुमागाईँले भन्नुभयो ।

प्रतियोगिता सम्पन्न गर्न ६५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । पुस १३ गतेसम्म चल्ने गोल्डकपको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस गोल्डपकले पुनर्स्थापना भएर अमेरिका सहित विभिन्न देश पुगेका भुटानी शरणार्थी र यहाँ शिविरमा रहेका शरणार्थी तथा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जोड्ने समेत बताइएको छ ।