गोकर्ण दयाल
बैतडी, मङ्सिर २९ गते । बैतडीमा जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । पुरचौडी नगरपालिका –६, सुइलेक सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधबार राति धनगढीबाट बझाङको बुङल नगरपालिकातर्फ गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते हुनेमा बझाङको बुङल नगरपालिका –७, अठ्पालीकी ४५ वर्षीया हुर्कादेवी धामी, २० वर्षीय सचिन धामी, बुङल नगरपालिका–८, कि ५० वर्षीया मैनादेवी बोहरा, बुङल नगरपालिका –४, कि ४८ वर्षीया लालीदेवी कार्की, ५२ वर्षीय धनसर सिंह र जिप चालक डोटी जिल्ला जोरायल गाउँपालिका –२, का ५५ वर्षीय विष्णु भट्ट रहनु भएको छ ।
घाइतेको स्थानीय देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।