• १२ असोज २०८१, शनिबार

आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २८ गते । आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।

सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तर्गत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’ विषयमा छलफल भयो । त्यस्तै, गणेश राई र तीर्थराज मुकारुङ राईको ‘किरात राई महिलाले प्रवर्धन गरेको सांस्कृतिक रङ्ग’ विषयक कार्यपत्रमा छलफल भएको छ ।

त्यसैगरी, क्षितिज सुब्बाको ‘लिम्बुमा मृत्यु संस्कार: एक आदिवासी ज्ञान र पहिचानको सूचक’, डा. पासाङ शेर्पाको ‘आम्ची उपचार पद्धति’, जुद्ध गुरुङको ‘बहुपति प्रथा’ र डा. टेकबहादुर गुरुङको ‘ट्रेसिङ अफ दी ओरिजिन अफ तमु एण्ड इट्स रेलेभेन्स्’ विषयमा छलफल भएको छ ।

त्यसैगरी, ‘प्रदर्शन कला र पर्यटन’ विषयमा  डा. मीनबहादुर श्रीसको ‘परम्परागत ज्ञानको अभ्यास र पुस्ता हस्तान्तरणमा लोकनाटकको भूमिका’, झुमा लिम्बूको ‘हाक्पारे र आदिवासी जनजातिको ज्ञान’, भोजविक्रम बुढामगरको ‘मगर जातिमा प्रचलित युद्धकलामा आधारित सरङे नाँच’ र खिम घलेको ‘नेपाली पर्यटन विकासमा आदिवासी ज्ञानको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल भएको छ । 

सम्मेलनको दोस्रो दिन बिहीबार मातृभाषा र आदिवासी ज्ञान, परम्परागत खानपान र जलवायु परिवर्तन र विविध गरी तीन विषयमा छलफल हुनेछ । ‘मातृभाषा र आदिवासी ज्ञान’ विषयमा डा. लाल रापचाको ‘लिङ्ग्वेस्टिक आर्केओेलोजी इन इण्डिजिनियस कन्टेक्स अफ नेपाल’, डा. ओमकारेश्वर श्रेष्ठको ‘नेवार कुनाबिनाको भाषावैज्ञानिक अध्ययन’, तारामणि राईको ‘स्थान नामको भू–राजनीति’ र डा. विष्णुकुमार सिङ्जालीको ‘विकास निर्माण र आदिवासी भाषा–संस्कृति’ विषयक कार्यपत्रहरूमाथि छलफल हुनेछ ।

त्यसैगरी, ‘परम्परागत खानपान’ विषयमा डा. सोम धिमालको ‘खाना परिकार: पहिचानको खोज’, कुमार यात्रुको ‘वनजन्य खाद्य स्रोतमा निर्भर हुने आदिवासी चेपाङ’ र परशु विराट राईको ‘किरात राई जातिको परम्परागत ज्ञान र सीपको व्यवसायी अवसर र चुनौती’ विषयक कार्यपत्रमा छलफल हुनेछ ।

त्यस्तै, ‘जलवायु परिवर्तन र विविध’ विषयमा डा. एसके महर्जनको ‘पार्टीसिपेटरी एक्सन रिसर्च अन क्लाइमेट चेन्ज फोकसिङ अन इण्डिजेनेटि एण्ड डिसेबिलिटी इन सिन्धुपाल्चोक नेपाल’, डा. लालबहादुर पुनको ‘लिभिङ हेरिटेज अफ राउटे नोमेट अफ नेपाल: एन इथ्नोग्राफिक भिङग्याट’, डा. मुक्तसिङ तामाङको ‘आदिवासी ज्ञान संरक्षणमा विश्वविद्यालयको भूमिका’ र विष्णु थिङको ‘पुर्ख्यौली पेसाको सङ्कटले निम्त्याउने दुष्परिणामहरू’ विषयक कार्यपत्रमा छलफल हुनेछ ।