• १३ साउन २०८१, आइतबार

‘सेनाको चेली’ र ‘बाघको बङ्गारा’लाई अवार्ड

blog

काठमाडौँ, मङ्सिर २८ गते । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका छन् ।

यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।यस्तै अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’लाई सर्वोत्कृष्ट डकुमेन्ट्री घोषणा गरियो । 

यस पटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीका रूपमा हुनुहुन्थ्यो । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्मचाहिँ अस्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फ्लाई फर्म एभरेस्ट’ बन्यो । 

हिमाल एसोसिएसनको आयोजना र काठमाडौँ महानगरको सहआयोजनामा भएको फेस्टिभलको बीसौँ संस्करणमा यस पटक ३० मुलुकका ६० चलचित्र स्क्रिनिङ भएका हुन् । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानव अधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यस पटकको नारा ‘दिगो आरोहण’ थियो ।

हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले फेस्टिभललाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि दर्शकीय उपस्थितिले उत्साह थपेको बताउनुभयो ।