• १३ साउन २०८१, आइतबार

पाका पुस्तासँग पुर्ख्यौली सिक्दै युवा

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), मङ्सिर २७ गते । पुर्ख्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरू पहिचानका रूपमा लिने गर्छन् । पुर्खाहरूले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय रहेको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । 

मगर समुदायको परम्परागत कला संस्कृतिको संरक्षणमा युवा पुस्ता अघि सरेका छन् । परम्परागत मौलिक कला संस्कृति र सीप नयाँ पुस्तालाई सिकाउन पाका पुस्ता पनि तल्लीन छन् । पुख्र्यौली नृत्य र सोरठी गीत आजकल युवा पुस्ताले पनि सिको गरेका छन् । गाउँघरमा आउने पाहुनालाई पुख्र्यौली नृत्य देखाएर स्वागत गर्न युवाहरू अघि सर्छन् । सयौँ वर्ष पुरानो पुख्र्यौली नाच पुस्ता हस्तान्तरण हुँदै आएको मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुनमगर बताउनुहुन्छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारका अगुवा क्या. राजु पुनले भन्नुभयो, “नयाँ पुस्तालाई नसिकाउँदा हाम्रो पहिचान नै मेटिने चिन्ता छ । त्यसैले आजकल युवा पुस्तालाई सँगसँगै राखेर पुख्र्यौली नाच नचाउने गरेका छौँ ।” 

मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्र्यौली नाचको अस्तित्व बचाउन बूढापाकादेखि युवा पुस्ताले सक्रियता देखाउन थालेका छन् । मगर सङ्घका जिल्ला अध्यक्ष पुनले भन्नुभयो, “बेलाबखत युवालाई तालिम दिएर सीप सिकाउने गरेका छौँ ।”

पुनमगर समुदायले जिल्लाको काफल डाँडामा दुई दिनसम्म पाका पुस्तासँगै युवालाई राखेर पुख्र्यौली नृत्य प्रस्तुत गरेका छन् । क्या. पुनले भन्नुभयो, “पछिल्लो समय युवा पुस्तामा कला, संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने सचेतना जागेको छ ।” हाम्रो मौलिक पहिचानको जगेर्ना गर्न युवा पुस्ताले चासो देखाएका छन्, मगर सङ्घका अध्यक्ष पुनले भन्नुभयो, “युवाहरूको सक्रियतामा गाउँघरमा पुख्र्यौली नाचको संरक्षण हुन थालेको छ ।” गाउँघरमा बुढापाकासँगै युवालाई सँगसँगै राखेर पुख्र्यौली नृत्य देखाउन थालिएको छ  उहाँले भन्नुभयो, “पाका पुस्ताको देनले पुख्र्यौली संस्कृति जीवित छ, यसलाई बचाउनु हाम्रो कर्तव्य हो । आजकलका युवाहरू पनि बाउबाजेसँगै पुख्र्यौली नाच्न थालेका छन् ।”

मगर समुदायमा जन्म, मृत्यु, विवाह, छेवार र गाउँमा हुने विशेष सभा समारोहमा परिवेशअनुसार पुख्र्यौली नाच देखाउने चलन रहेको छ । लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृश्य निकै रोचक हुन्छ । अझ मादलेसँगै जोडी भएर महिलाको वेशमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थप्छन् । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको वेशमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै रोचक पक्ष र विशेषता भएकाले युवालाई पनि पुख्र्यौली जोगाउनुपर्छ भन्ने भावना जागेको राम्चेका रवि पुनले बताउनुभयो । 

पुख्र्यौली नाच्नका लागि १२ जना पुरुष र सोरठी गाउन पनि त्यतिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ । यसमा कला र गला भएका धेरै जनशक्ति आवश्यक पर्ने भएकाले कलाकार जुटाउन कठिन हुन्छ । युवालाई तालिम नै दिएर पुख्र्यौली नाच्न सिकाएपछि भने यसका लागि आवश्यक जनशक्ति पुग्न थालेको पाउद्वारका क्या. पुनले बताउनुभयो ।