• १२ असोज २०८१, शनिबार

दम्पती घरमै मृत भेटिए

blog

मुरारी अधिकारी

धादिङ,  मंसिर २६ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मुलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उहाँका श्रीमती निरमायाँ आलेमगर आफ्नै घरमा मृत भेटिनुभएको हो । 

काठको कच्ची घरमा बस्दैआएका सम्पत्तिलाई सोमबार बिहान करिब ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेको त्रिपुरा सुन्दरी गाउँपालिका –३ का वडा अध्यक्ष कमल आलेमगरले जानकारी दिनुभयो ।  

“विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ । निधारमा र दाहिने आँखामाथि चोट लागेको देखिन्छ । शरीरमा भने कपडा ओढिइराखेको अवस्थामा छ” घटनास्थल पुगेका वडा अध्यक्ष आलेमगरले भन्नुभयो, “निरमाया घरभित्रै देखिन्छन्, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामी भित्र पसेका छैनौँ ।” 

वडा अध्यक्ष आलोमगरका अनुसार घटनास्थल वरपर शङ्कास्पद केही देखिँदैन । चोट लागेको ठाउँमा रगतका टाटा मात्रै देखिन्छ । मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दैआएको र छोरीको विवाह भैसकेको स्थानीयले जानकारी दिएका छन् । मृत शरीर धादिङबेसी लेराउने र अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।