• १३ असोज २०८१, आइतबार

बसपार्क नहुँदा यात्रु मारमा

blog

काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ सहरभित्र प्रवेश नदिइएपछि कोटेश्वरपूर्व भएर चल्ने सवारीका यात्रु निकै मारमा परेका छन् । भक्तपुर हुँदै पूर्वबाट आएका लामो दूरीका सवारीसाधनले कोटेश्वर नपुग्दै जडीबुटी मनोहरा खोलाको पुलमै यात्रुलाई ओराल्ने गरेका छन् । यात्रुले सहर प्रवेश गर्न भाडाका मोटरसाइकल वा ट्याक्सी सेवा लिन बाध्य छन् । 

रामेछाप दोरम्बाका सचित घिसिङले जडीबुटीबाट चाबहिल पुग्न भाडाको सवारीसाधन प्रयोग गर्दा चार सय रुपियाँ तिरेको दुखेसो पोख्नुभयो । उहाँ रामेछापबाट कोटेश्वरसम्म सात सय रुपियाँमा आइपुग्नुभएको थियो । 

पूर्वबाट आएका सवारीसाधनले पछिल्लो समय जडीबुटी पुल आसपासका क्षेत्रलाई बसपार्कका रूपमा प्रयोग गर्दै आएका छन् । अरनिको यातायात सेवा प्रालिका सल्लाहकार चित्रबहादुर कुँवरले बसपार्क व्यवस्थापन हुन नसक्दा यात्रुले दुःख पाउने गरेको बताउनुभयो । 

कोटेश्वरपूर्व मात्रै दैनिक करिब दुई हजार सार्वजनिक यातायात गुड्छन् भने ४० हजार यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । कोटेश्वरपूर्व भएर मध्य तथा पूर्वीतराई जाने साना सवारीसाधन ललितपुरको बालकुमारी पुलमुनिबाट सेवा दिन बाध्य छन् । महोत्तरीका बिन्दालाल साहले बसपार्क नभएकै कारण अनावश्यक झन्झट बेहोर्नु परेको बताउँदै कोटेश्वर ओर्लिएपछि ट्याक्सी सेवा लिन बाध्य हुनु परेको गुनासो गर्नुभयो । 

भोजपुरका रमेश पौडेलले बसपार्कको निश्चित नहुँदा मध्य रातमा काठमाडौँ आइपुग्दा झनै समस्या थपिने गरेको बताउनुभयो । “बसपार्कसम्म जान पाए मात्रै सुरक्षाको अनुभूति हुन्थ्यो । सुनसान ठाउँमा पुल नजिकै ओर्लिंदा निकै समस्या हुन्छ,” उहाँले भन्नुभयो । केही दिनअघि राति १० बजे काठमाडौँ ओर्लिएपछि जडीबुटीबाट कालीमाटी पुग्न सात सय रुपियाँ भाडा तिरेको स्मरण गर्दै उहाँले महिला, ज्येष्ठ नागरिक र नयाँ मानिसलाई समस्या हुने बताउनुभयो । 

दोलखा झुलेका कृष्णबहादुर काफ्लेले १७० किलोमिटरको लामो यात्रा गरेर काठमाडौँसम्म आइपुग्दा ७२० रुपियाँ तिरे पनि जडीबुटीदेखि जावलाखेलसम्म पुगेको ट्याक्सीले पाँच सय रुपियाँ लिएको गुनासो गर्नुभयो । केही वर्षअघि पुरानो बसपार्क झरेर स्थानीय यातायातमा जावलाखेल पुग्दा २० रुपियाँ तिरेको स्मरण गर्दै उहाँले बसपार्क नहुँदा महँगा सवारीसाधन चढ्नुपर्ने बाध्यताले यात्रु ठगिनुपरेको बताउनुभयो । 

सिन्धुपाल्चोक बाह्रबिसेका कविर श्रेष्ठले पूर्वतर्फ जान जडीबुटी पुग्नुपर्ने हुँदा ज्येष्ठ नागरिकलाई निकै समस्या हुँदै आएको बताउनुभयो । उहाँले बसले निश्चित स्थानमा नओराल्ने हुँदा बाहिरबाट आएका यात्रुलाई कष्ट भएको बताउनुभयो । “बाहिरबाट आएका यात्रुका साथमा सामान पनि हुन्छन् । जडीबुटीमा सबै ठाउँ जाने स्थानीय साधन पनि पाइँदैन । ट्याक्सीसँग मोलमोलाई गर्नुपर्छ । यसबाट यात्रु ठगिएका छन्,” उहाँले भन्नुभयो ।

हिमाल–तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले पुरानो बसपार्क भएको स्थानमा भ्युटावर निर्माणमा ढिलासुस्ती भइरहेको छ भने खुलामञ्चको बसपार्क हटाउँदा कोटेश्वरपूर्व भएर चल्ने सवारीसाधनले सडकमै यात्रुलाई ‘पिक एन्ड ड्रप’ गराइरहेको बताउनुभयो । उहाँले मान्छे चढाउन र ओराल्न विभिन्न स्थानमा पुग्नुपर्ने बाध्यताले हैरानी थपिएको बताउँदै बसस्टपको निश्चित नहुँदा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्नुभयो । 

यस सम्बन्धमा ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक अवदेश विष्टले जडीबुटीभन्दा पूर्व सञ्चालन हुने सवारीसाधनले रुट परमिट नपाएकाले सहरभित्र प्रवेश गर्न दिन अनुमति नभएको उल्लेख गर्दै नयाँ बसपार्कसम्म जान चाहेमा त्यसबारे सोच्न सकिने बताउनुभयो ।