• १३ साउन २०८१, आइतबार

कहर वृत्त (कथा)

blog

गोधूलि साँझ । हामी दुवैजना पसलमा छौँ । हामीले खाजा खाइसकेका छौँ । हठात् मेरी श्रीमतीले भनिन्, ‘‘मेरो जीउ कटकटी दुखिरहेको छ । ज्वरो आउलाजस्तो छ ।’’ तत्काल मैले भनेँ, ‘‘केही हुँदैन । सिटामोल एक चक्की खाइदेऊ, निको भइहाल्छ । बरु माथि कोठामा जाऊ, आराम गर्न ।’’ उनी सुस्तरी उठिन् र गइन् । म पसलमै रहेँ ।

सुनसान छ पसल । कारोबार छैन । निरुपाय म पत्रिका पढ्ने जमर्को गर्दैछु । अन्धकार व्याप्त छ धर्तीमा । अँध्यारोमा सबै–सबै अँध्यारा देखिन्छन् । कहीँ कतै उज्यालो देखिँदैन ।

पसल थुन्नुपर्ने बेला भएको छ । सुरसार गर्दैछु । सामानहरूको राखनधरन र पैसा पनि मिलाउनु छ । त्यही गरेर सटर तल झारेको छु । माथि उक्लिएको छु । कोठाभित्र पस्दा देख्छु, उनी खाटमा मस्त पल्टिरहेकी छिन् । सोध्छु, ‘‘अहिले कस्तो छ ?’’ जवाफमा उनी विस्तारै बोल्छिन्, ‘‘टाउको दुखिरा’छ ।’’ हामी केही क्षण मौन रहन्छौँ । पछि हामी दुवै भान्सामा पस्छौँ । बेलुकीको खाना तयार गर्नु छ । हाम्री एक्ली छोरी आफ्नै कोठामा होलिन् । अक्सर उनी पढाइमै व्यस्त रहन्छिन्, यद्यपि कोभिडका कारण विद्यालय बन्द छ । दुवै जना मिलेर खाना पकाएका छौँ । तीन जना एक ठाउँ जम्मा भएका छौँ, भान्सामा । खान बसेका छौँ । खाइसकेपछि छोरी आफ्नो कोठामा जान्छिन् र हामी आफ्ना कोठामा ।

‘‘हामी अलगअलग सुत्ने हो कि !’’ उनी बोल्छिन् । म उनीलाई आँखा तर्दै भन्छु, ‘‘किन ?’’ ‘‘मलाई कोरोनाले छोएजस्तो छ ।’’ उनी सशङ्कित हुन्छिन् । ‘आ..........।’ म झर्किन्छु ।

त्यो रात हामी सँगै सुत्छौँ ।

हामी पसलमा बस्दा हातमा पञ्जा लगाउँछौँ, मुखमा मास्क लगाउँछौँ र बेलामौका स्यानिटाइजर पनि प्रयोग गर्छौं । भौतिक दूरी कायम राखेका छौँ, तैपनि ..........।

भोलिपल्ट । बिहान म उठ्दा उनी उठेकी छैनन् । सुतिरहेकी छिन् । शौचादि कर्म सकाएर म भान्सामा पसेको छु । दुई कप दूध हालेको चिया पकाएको छु । उनीलाई एक कप चिया दिएर पुनः भान्सामा फर्केर चिया पिउन थालेको छु । छिट्टै सकाएको छु । यतिञ्जेलसम्म पनि छोरी उठेकी छैनन् ।

पसल खोलेर बसेको छु । ग्राहकहरू आएका छैनन् । फाट्टफुट्ट ग्राहकहरू आउन थालेका छन् । कोही दूध लिन, कोही चिनी किन्न, कोही उधारो पैसा तिर्न र कोही फगत गफ गर्न आएका छन् । म अलिक व्यस्त हुन थालेको छु । लेनदेन चलिरहेको छ । बीचमा उनी आइपुगेकी छिन् । हेर्छु, उनी मलिन देखिएकी छिन् । थकित पनि देखिन्छिन् । उनको अनुहारभरि बिमिरै–बिमिरा देख्छु । रातै छ अनुहार । तत्क्षण सोध्छु, ‘‘के भएको हो तिम्रो अनुहारमा ?’’

‘‘खै, खटिराहरू निस्किएका छन् ! एकदम चिलाउँछ ।’’ उनको स्वर भासिएको छ । ‘‘तिमी यहाँ बस्दै गर, म एकैछिनमा आउँछु’’, भन्दै म औषधि पसलतर्फ लाग्छु ।

त्यहाँ पुगेर पसले भाइलाई भन्छु, ‘‘अनुहारभरि बिमिरा आएको छ, चिलाउँछ रे ! के गर्ने होला ?’’ ‘‘कसलाई ? भाउजूलाई हो ?’’ उसले सोध्छ । जवाफमा म बोल्छु, ‘‘हो ।’’ ‘‘त्यसो भए, यो ओखती दल्न लगाउनू बिहान–बेलुका । उहाँलाई ज्वरो पनि छ ?’’ उसले यति भन्दै ओखती दिन्छ । ‘‘ज्वरो त छैन,’’ मैले बोल्दै गर्दा ऊ अर्को ग्राहकतिर फर्किन्छ । ‘‘के दिऊँ ?’’ ऊ भन्छ । ‘सिटामोल एक फाइल दिनोस् न,’’ ग्राहकले भने । ‘‘अझै ज्वरो घटेको छैन ?’’

‘‘छैन नि ।’’ ‘‘छिटै अस्पताल लानोस् । पक्कै कोभिड होला !’’ ‘‘हस् !’’ त्यो ग्राहक गएपछि उसले मतिर हेर्दै भन्छ, ‘‘दाइ, भाउजूलाई कोरोनाले छोएको हुनुपर्छ । केयर गर्नु होला ! उहाँलाई आइसोलेसनमा राख्नु होला !’’ म भाइलाई धन्यवाद भन्दै पैसा दिन्छु र लगत्तै फर्किन्छु । म उनीलाई औषधि दिँदै भन्छु, ‘‘ल, यो लगाऊ ! अहिले नै लगाइहाल । भरे बेलुकी पनि लगाउनु पर्छ ।’’ ‘‘मलाई के भएको हो ?’’ उनी चिन्ता प्रकट गर्छिन् ।

‘‘अरू केही होइन, एलर्जी भएको रे,’’ म उनीलाई आश्वस्त पार्छु । उनी आराम गर्न माथि कोठामा जान्छिन् । म पसलमै रहन्छु । दिनभर पसलमै अल्झिन्छु । अल्झिरहन्छु नै । खाना र खाजा खान भने उनीले मलाई पालो दिन्छिन् । उनी उस्तै छिन् र छोरी सकुशल छिन् । यताउता गर्दागर्दै दिन बित्दछ । साँझ ढल्न लागेको छ । रात पर्दैछ । पसल बन्द गरेर म माथि उक्लिएको छु । उनी भान्सामा व्यस्त छिन् र छोरी आफ्नै कोठाभित्र केही गरिरहेकी छिन् । पछि हामी तीनै जना भान्सामा एकत्रित हुन्छौँ र खाना खान बस्छौँ । तर हामी मौन छौँ । खाना खाइवरी, भाँडाकुँडा पखालपुखुल गरी हामी तीन जना तीनतिर अलगअलग सुत्न जान्छौँ । कतिखेर निदाएछु म, थाहै भएन । उनीहरू पनि निदाए होलान् ।

बागमती बगिरहेकी छिन् । वनमा रूखहरू सुसाइरहेका छन् । चराहरू चिर्बिराइरहेका छन् । नजिकैको मन्दिरमा घन्टाहरू बजिरहेका छन् । कलिलै छ घाम । म ब्यूँझिसकेको छु । तर उनीहरू उठेका छैनन् । हतारहतार नित्यकर्म सकाएर पसल खोल्न तल ओर्लेको छु । सटरमाथि धकेलेर बत्ती बालेको छु । सामानहरू मिलाएर राख्दैछु । बढारकुँढार गरेर धूप पनि सल्काएको छु । क्रमशः ग्राहकहरू आउन थालेका छन् । म व्यस्त हुन थालेको छु । दूध लिन आएको एक जना ग्राहकले सोध्छन्, ‘‘दाजु, भाउजूलाई देख्दिनँ नि । कहाँ जानुभयो ?’’ जवाफमा म बोल्छु, ‘‘उनी माथि भान्सामा छिन्, एकछिनपछि आउँछिन् ।’’ 

‘‘कोभिडले छोएको त होइन !’’ उनी शङ्का प्रकट गर्छन् । 

‘‘होइन, होइन ।’’ म भन्छु । उनी चिया लिएर पसलमा आइपुग्छिन् । तत्काल म उनको मुहार एकटकले हेर्छु, हेरिरहन्छु । अनि त्यसपछि, भन्छु, ‘‘के छ त बूढी, हालखबर ?’’ उनी सुस्तरी बोल्छिन्, 

‘‘अहिले ठीक छु । हिजो बेलुकी झन्डै मरेकी म ।’’

‘‘के बोलेकी, मुखमा जे आयो त्यही बोल्ने !’’ मलाई झनक्क रिस उठ्छ । ‘‘सास फेर्न गाह्रो भयो । पसिना–पसिना भएँ । म त आत्तिइसकेकी । तपाईंलाई उठाउन पनि सकिनँ । पछि घोप्टो परेर सुतेँ । सञ्चो भयो ।’’ उनी बोल्दै छिन् । म सुन्दैछु ।

‘‘चिलाउन कम भयो । अरू केही छैन ।’ उनको बोलीले म ढुक्क हुन्छु । तैपनि म भन्छु,’’ ‘‘तिमीलाई कोभिडले छोएको हो । जाऊँ, हस्पिटलमा गएर जचाऊँ ।’’ ‘‘अब मलाई केही हुँदैन । म हस्पिटल जान्नँ,’’  उनी ढिपी कस्छिन् । म चुप बस्छु । ग्राहकहरू फाट्टफुट्ट आइरहेका छन् र गइरहेका पनि छन् । हामी दुवै पसलमै छौँ । पसलमा बसेर हामी घरायसी कुरामा अल्झिएका छौँ । केही सकारात्मक कुराहरू छन् त, केही नकारात्मक कुराहरू पनि छन् ।

म बोल्छु, ‘‘क्वाँटी पकाऊ, चिकेन पनि लिएर आऊ ! झोलिलो र तागतिलो कुरा खानुपर्छ ।’’ उनी बोल्छिन्, ‘‘खानै मनलाग्या छैन ।’’ पुनः म भन्छु, ‘‘मन नलागे पनि खानुपर्छ ।’’ उनी मासु लिन गइन् । म पसलमै छु । फर्केर उनी भान्सामा खाना पकाउन गइन् । पसलमा म एक्लै केही पढिरहेको छु । ग्राहकहरू छैनन् भन्दा हुन्छ । केही समयपछि उनी आइन् र सँगै बस्दै भनिन्, ‘‘जानुस्, खाना खाएर आउनुस् !’’  ‘‘तिमीले खायौ त ?’’ मेरो सोधनीमा उनी सुस्तरी बोल्छिन्, ‘‘म अहिले खादिनँ, पहिला तपाईं खाएर आउनुस् । छोरी पनि खाइरहेकी छिन् ।’’ म खाना खान जान्छु ।

छोरी खाना खाएर आफ्नो कोठामा पसिसकेकी छिन् । म खाना पस्किन्छु र खान थाल्छु । झटपट खाएर मुख चुठेर हात धोएर तल पसलमा झर्छु र उनीलाई खान पठाउँछु ।

अब दिनभरि पसलमा बस्नु छ ।

दिउँसो पसलमा त्यति ग्राहकहरू आउँदैनन् । झिँगा मारेर बस्नुपर्छ । समय कटनीका लागि केही पढ्छु, र लेख्छु पनि । यो नै मेरो नियमित दैनिकी हो । यतिखेर म विश्वविख्यात स्रष्टा बेन ओकरीको कविता सञ्चयन ‘‘एन अफ्रिकन एलिजी’’ पढ्न व्यस्त छु । पढ्दापढ्दै झकाउन थाल्छु । यस्तै हुन्छ मलाई । मन उदास छ र तन शिथिल छ । अलिक टाउको दुख्याजस्तो । आलस्यले गाँजेको छ । उनीले मलाई खाजा लिएर आउँदा दिनको ३ बजिसकेको छ । उनी प्रसन्न मुद्रामा छिन् । म भने मन नलागी–नलागी खाजा खान्छु । मेरो मुख मीठो छैन ।

उनी बोल्न खोज्छिन् । मलाई चाहिँ बोल्न नपरोस् जस्तो लाग्छ । उनीले गरेका प्रश्नहरूका उत्तर दिन पनि झिँजो लाग्छ । उनी के सोचिरहेकी छिन्, मलाई मतलब छैन । ‘‘लौ त, तिमी बस । म यसो आराम गरेर आउँछु,’’ यति भन्छु । ‘‘हैन, तपाईंलाई के भयो ?’’ उनी सोध्छिन् । म नबोलीकनै माथि कोठातिर लाग्छु । डङ्ग्रङ्ङ पल्टिन्छु खाटमा । जीउ हल्का तातो छ । ज्वरो आउलाजस्तो छ ।

पल्टिरहन्छु । मनमा अनेक कुरा खेल्छन् । खेलिरहन्छन् । तन्द्रिल अवस्थामा छु । उठेर पसलमा फर्किंदा झमक्क साँझ परिसकेको छ । उनी व्यस्त छिन् । म पनि उनीलाई सघाउन तत्पर हुन्छु । ग्राहकहरूको आगमन । अनि, बहिर्गमन । चलायमान कारोबार । म बिस्तारै बोल्छु, ‘‘जाऊ, मलाई खाना नपकाऊ । बरु अलिकति जाउलो पकाइदेऊ । सञ्चो छैन ।’’ उनी मेरो निधार छाम्दै भन्छिन्, ‘‘तातो छ । तपाईंलाई ज्वरो आएको छ । छिट्टै पसल बन्द गरौँ ।’’ हामी पसल थुन्न थाल्छौँ ।

माथि आउँछौँ । छोरी आफ्नै कोठामा केही गरिरहेकी छिन् । उनी भान्सामा पस्छिन् । म कोठाभित्र पस्छु र पुनः पल्टिन्छु । केही गर्न मन लागेको छैन । खान पनि मन लागेको छैन । फगत सुतिरहन मन लागेको छ । बस्, सुतिरहेको छु । केवल सुतिरहेको छु । 

केही क्षणपश्चात् उनी मलाई बोलाउन आउँछिन् । उठेर म उनीको पछि लाग्छु, भान्सातिर । मलाई जाउलो पस्किदिन्छिन् । बिस्तारै खानथाल्छु । खानमा त्यति रुचि छैन मेरो । उनीहरू पनि खान थाल्छन् । खाइसकेपछि हामी आ–आफ्ना कोठातर्फ लाग्छौँ ।

बिहान म छिटो उठ्न सक्तिनँ । हनहनी ज्वरो आएको छ । टाउको पड्किएलाजस्तो छ । जीउ दुखेको छ । ढिलो उठ्छु । छिनमै ट्वाइलेट जान्छु । खलास हुँदैन । मात्र पिसाब फेरेर कोठामा फर्किन्छु । उनीले पसल खोलिसकेकी छिन् । त्यहीँ व्यस्त छिन् । 

भान्सामा गएर एक चक्की सिटामोलसँगै पानी पिउँछु । पुनः कोठामै फर्केर खाटमाथि पल्टिन्छु । पल्टिएर अनेक कुरा सोचिरहन्छु । अलिक चिसो भएको अनुभव हुन्छ । तत्कालै उनीको फोन आउँछ । उठाउँछु– ‘हेलो !’

उनी बोल्छिन्, ‘‘तपाईं उठिसक्नुभयो ?’’

म– ‘‘अघि नै उठेको ।’’

उनी– ‘‘चिया पकाएर खानुस् !’’

म झुठ बोल्छु– ‘‘पिइसकेँ ।’’

‘‘त्यसो भए, आराम गरेर बस्नुस् !’’ उनीले यति भनेर फोन राख्छिन् । म कोठाभित्रै छु । थाहा छैन, छोरी कहाँ के गरिरहेकी छिन् ! करिब नौ बजेतिर म पसलमा जान्छु । ‘‘मलाई खाना नपकाऊ । बरु एक बटुको मसरुम सुप ल्याइदेऊ’’, यति भन्दै म उनीलाई माथि पठाउँछु । सञ्चो छैन । दिन यत्तिकै बित्छ । साँझपख फेरि जीउ तात्तिन थाल्छ । सोच्छु, सिटामोलको असर कम हुन थालेछ । छिटै पसल बन्द गरेर माथि उक्लिन्छु । मलाई देखेर उनी बोल्छिन्, ‘‘किन, यति छिटो ?’’ जवाफमा म फुसफुसाउँछु, ‘‘अँ, बस्न मन लागेन । जीउ भारी भयो ।’’

उनी सोध्छिन्, ‘‘के पकाइदिऊँ ?’’

‘‘केही पर्दैन । दूध बिस्कुट खाऊँला,’’ मलाई बोल्नै मन लागेको छैन वास्तवमा ।

उनीहरू दुई जना खाना खाइवरी सुत्ने तरखरमा लागे । मलाई दूध बिस्कुट ल्याइदिइन् । त्यही खाएँ–पिएँ । सिटामोल पनि निलेँ । पानी पनि पिएँ । लम्पसार सुतेँ । अनि, भुसुक्क निदाएँ पनि ।

म पसलमा जान छोडिसकेँ । उनी नै घर–पसल, पसल–घर गर्छिन् । उनीलाई सकस छ । यसरी ज्वरो आउने–जाने गरेको आजले चार दिन भयो । ज्वरो एक सय चारबाट तल घट्दैन । औषधि खाउञ्जेल मात्र निको, नत्र उही । जीउ सर्वाङ्ग दुख्छ । खानमा पटक्कै रुचि छैन । जिब्रोले स्वाद लिन छोडिसक्यो । सामान्य खोकी पनि लागेको छ ।

अब त हुँदै भएन भनेर एक डक्टर मित्रलाई फोन गर्छु । उनले पीसीआर टेष्ट गराउने सुझाव दिन्छन् । टेष्टका लागि एक स्वास्थ्य संस्थामा कार्यरत एउटी चिनजानकी बहिनीलाई सम्पर्क गर्छु । उनीले घरमै स्वाब सङ्कलनका लागि एक भाइ पठाइदिन्छिन् । स्वाब लिएर जान्छन् । त्यसको भोलिपल्ट रिपोर्ट आउँछ, नेगेटिभ । म अचम्मित हुन्छु । तुरुन्तै डक्टर मित्रलाई फोनमा यो तथ्य बताउँछु । उनले भन्छन्, ‘तपाईंलाई कोभिड भएकै हो । तर पोष्टकोभिड । तपाईंको इम्युनिटी पावर बलियो रहेछ । अब ढुक्कले बस्नुस् । तनाव नलिनुस् । पोषिलो खानुस् । सकारात्मक सोच्नुस् । आइसोलेसनमै बस्नुस् । अरू कुरा के भनूँ ।’ म मित्रप्रति आभार प्रकट गर्छु ।

पूरै एक हप्तापछि म सकुशल पसलमा बस्न थाल्छु । उनी प्रफुल्लित छिन् र छोरी पनि मगनमस्त छिन् । आजपर्यन्त हाम्रो जीवन गतिशील छ । कुनै बाधा–अड्चन छैन ।