• ११ असोज २०८१, शुक्रबार

फ्लाइओभर निर्माण सुरु

blog

ललितपुर, मङ्सिर २४ गते । ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)को निर्माण शुक्रबारदेखि सुरु भएको छ । 

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले फ्लाइओभर निर्माणसम्बन्धी काम शुक्रबारदेखि सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल फ्लाइओभर निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि कामहरू सुरु गरिएको छ । ट्राफिक व्यवस्थापनसँगै अबको केही दिनमा भौतिक रूपमै काम सुरु हुन्छ ।”

उहाँका अनुसार ट्राफिक व्यवस्थापन तथा सजिलो रूपमा सवारीसाधनको डाइभर्सनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका ‘मेडियन’ हटाउने काम गरिएको छ ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्र्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुतमार्गबाट सञ्चालन गरिनेछ । 

त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटरअगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुतमार्गबाट सञ्चालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।