• १६ भदौ २०८१, आइतबार

जागिर त्यागेर बुङ्गुर पालनमा रमाउँदै श्रेष्ठ परिवार

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिका –३ दोन्द्रामा लघुवित्त म्यानेजरको जागिर त्यागेर कृषि कार्यमा रमाउँदै ईश्वर श्रेष्ठ । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर २१ गते । भेटेनरी डाक्टर सञ्जय श्रेष्ठलाई जागिरका लागि धेरै अवसर आयो । पुर्ख्यौली पेसा कुखुरा पालन गर्दैआएका डा. श्रेष्ठ जागिरभन्दा कृषि पेसामा रमाउनुभयो । श्रेष्ठसहित चार जना युवा मिलेर बुद्धभूमि नगरपालिका –३ दोन्द्रामा सञ्चालनमा रहेको भिन्तुवा एग्रो फर्मले मनग्य आम्दानी गरेको छ ।  

फर्मको काम बुटवलका ईश्वर श्रेष्ठले सम्हाल्दै आउनुभएको छ । ईश्वर निर्धन उत्थान लघुवित्तमा म्यानेजर भई १५ वर्ष काम गर्नुभएको थियो । उहाँका अनुसार कृषि क्षेत्रमा भविष्य बनाउन जागिर त्यागेर फर्मतिर जोडिनुभयो । तीन वर्ष अगाडि सञ्चालनमा आएको फर्ममा डेढ करोड बढी लगानी रहेको उहाँले बताउनुभयो ।

बुङ्गुर र माछा पालनलाई प्राथमिकता दिने गरी फर्म सञ्चालन गरेको ईश्वरले बताउनुभयो । विदेश जाने युवा पुस्तालाई कृषिप्रति आकर्षित गराउन फर्म सञ्चालन गरिएको उहाँको भनाइ छ । सञ्जय दुई वर्षअघि भेटेनरी डाक्टरको कोर्स सकाएर अहिले मास्टर लेभल अध्ययनरत  हुनुहुन्छ । 

परिवारसँगै दाङको सुन्डवरीमा लेयर्स कुखुरा पालन गर्दै आउनुभएको छ । पुर्ख्यौली पेसा अण्डा बिक्री गर्ने भएको हुँदा पढेर जागिरभन्दा पनि काम गर्ने आँट आएको बताउनुभयो । दोन्द्रामा १० बिघा बढी खेत लिजमा लिनुभएको छ । करिब ६ बिघामा माछा पालन गर्ने, बाँकी जग्गामा बुङ्गुर र कुखुरापालन गरी व्यवसाय सञ्चालन गर्दैआउनुभएको छ । जमिनको भाडा प्रतिकट्ठा वार्षिक १५ सय रुपियाँ रहेको उहाँले बताउनुभयो ।  

‘बुकिङ क्षेत्रमा करिब १५ वर्ष काम गरेँ । कृषितिर केही गर्न पर्छ भनेर आफू यसमा लागेको उहाँको भनाइ छ । “हामी चार भाइ मिलेर कृषिमा केही गरौँ भनेर जागिर छाडेर काम सुरु गरेका हौँ, हालसम्म राम्रो प्रतिफल देखिएको छ ।” बैङ्कबाट ५६ लाख रुपियाँ कृषि ऋण, आफ्नो लगानी र केही सरकारी अनुदानको सहायताले व्यवसाय सुरु गरेको ईश्वरले बताउनुभयो । 

नौ वटा माउ राखेर सुरु भएको फर्ममा हाल दुई सय बढी बुङ्गुर छन् । पाठापाठी र मासु दुवै बिक्री गर्ने उद्देश्य लिएको उहाँहरूको भनाइ छ । फर्ममा ल्यारेन्स, ड्युरेक्स जातका बुङ्गुर पालिएको श्रेष्ठले बताउनुभयो । ५० वटा माउ र चार सय बुङ्गुरका बच्चा पाल्नेगरी खोर निर्माण गरिएको उहाँको भनाइ छ । 

बुङ्गुरका केही माउ र साना बच्चाहरू बिक्री गर्नयोग्य भएको उहाँले बताउनुभयो । अझै प्रचार प्रसार नभएका कारणले साना बच्चा बिक्री गर्न अलि समस्या रहेको उहाँले बताउनुभयो । पोखरीका माछा स्थानीय बजारमा बिक्री गर्दैआएको उहाँले जानकारी दिनुभयो । अघिल्लो पटक लोकल कुखुरा र कडकनाथ कुखुराले बजार नपाएपछि ब्रोइलर पाल्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो । कृषि फर्मबाट वार्षिक ५० लाख बढीको कारोबार हुने उहाँको भनाइ छ ।