• ११ असोज २०८१, शुक्रबार

नमुना बस्तीका घर उपयोगविहीन

blog

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर २१ गते । भूकम्पले क्षति पुर्‍याएपछि राहतका लागि विभिन्न दाताले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, शिखरपुरमा निर्माण गरिदिएका ४६ घरसहितको नमुना माझी बस्ती अहिले उपयोगविहीन भएको छ । 

सो नमुना बस्तीका सबै भवन एककोठे भएका कारण माझीहरूले उपयोग गर्न छाडेर बस्तीपछाडि फेरि अर्को घर बनाएर बस्न थालेका छन् । अन्नपात राख्ने, सुत्ने, खाना बनाउने, लत्ताकपडा राख्ने, पाहुना राख्ने ठाउँ अपुग हुने भएकाले माझी समुदायका व्यक्तिले नमुना बस्ती छाडेको बताएका छन् । माझीहरूले नमुना बस्तीमा बस्नुको सट्टा एककोठे भवनमा चौपाया र अन्नपात राख्ने गरेका छन् ।

एककोठे घरमा व्यवहार धान्नै मुस्किल भएपछि अर्को घर निर्माण गर्नु परेको ६० वर्षीय धनबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “एककोठे घरमा सबै चिज अटेन । घरपरिवार बस्नसमेत नपुग्ने भयो । त्यसकारण विकल्पमा फेरि अर्को घर बनाएका हौँ ।” 

भूकम्पले घर ध्वस्त बनाएपछि दाताहरूले नमुना बस्तीले राहत दिए पनि हाल आएर कोठा नपुगेका कारण अर्को घर बनाएर बसेको अर्का कुमारी माझीले पीडा पोख्नुभयो । दाताले अलि दीर्घकालीन सोच राखेर तीनकोठे घर बनाइदिएको भए अर्को घर बनाउन नपर्ने कुमारीले तर्क राख्नुभयो ।

माझीहरूलाई थाई नेपाली सङ्घले रोटरी इन्टरनेसनलसमेतको सहयोगमा ४६ वटा नमुना घर निर्माण गरिदिएको हो । एक करोड सात लाख रुपियाँको लागतमा तीनवटा सामूहिक धारा, एक सामुदायिक भवन पनि बनाइएको छ । 

सबै घरको जगदेखि आधा भागसम्म ढुङ्गाको गारो लगाइएको छ । त्यसभन्दा माथिको संरचनामा प्रिफ्याब प्रयोग गरिएको छ । हरियो छाना र छानामा डिसहोम जडान गरिएका छन् । सबै घर एकैनासका निर्माण गरिएका छन् । भित्तामा रातो र कलेजी रङ लगाएर बस्ती सुन्दर र चिटिक्क बनाइएको छ । तर माझी समुदायका परिवारले सो बस्ती छाडेका छन् ।

माझी समुदायले नमुना बस्ती छाडेर पुनर्निर्माण गरेका अर्को बस्तीका घर दुई र तीन कोठाका छन् । स्थायी आवास निर्माणमा सरकारले दिएको तीन लाख अनुदानमा दुईदेखि १० लाख रुपियाँसम्म बैङ्क र साहुसँग ऋण लिएर लोडबियरिङका पक्की घर बनाइएका छन् । परिवारका सबै सदस्य घरभित्र नअट्ने भएपछि बाध्यताले अर्को घर बनाउनु परेको नमुना माझी बस्ती निर्माणका अध्यक्षसमेत रहेका नारायण माझीले जानकारी दिनुभयो । बस्ती उपयोगविहीन भए पनि दाताहरूले भने हालसम्म यसबारे चासो नराखेको उहाँले बताउनुभयो ।