• ११ असोज २०८१, शुक्रबार

हिउँद सुरु भएसँगै वनभोज खानेको लर्को

blog

सिन्धुली समाचारदाता

सिन्धुलीगढी, मङ्सिर २१ गते । सिन्धुली जिल्लाका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमा हिउँदे मौसम सुरुसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थल सिन्धुलीगढी, पञ्चकन्या पोखरी, माईस्थान, हरिहरपुरगढी, माईस्थान शिरलगायतका ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको छ । पूर्वाधार विकास निर्माणसँगै यातायात सुविधा भएकाले पछिल्लो समय त्यस्ता ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको स्थानीयले बताएका छन् ।

कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा अहिले दैनिकजसो वनभोज खान आउनेको भीड लागेको स्थानीय घनश्याम मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालय र रानीदरबारले वनभोज खान आउनेलाई आकर्षित गरेको छ । कुनै दिन त नौ/दसवटा समूह वनभोज खान आउने गरेका छन् ।” गढी क्षेत्रमा चारवटा व्यवस्थित वनभोज स्थल निर्माण गरिएका छन् । गढी परिसरका सबै वनभोज स्थलमा पानीको सुविधा पु-याइएको छ ।

मनोरम दृश्य हेर्न सकिने तथा व्यवस्थित बनेकाले गढीपरिसर वनभोजका लागि आकर्षक थलो बनेको उहाँको भनाइ छ । नेपाल सरकारले घोषणा गरेको नयाँ पर्यटक गन्तव् मध्येको एक ऐतिहासिक सिन्धुलीगढीमा पूर्वाधार निर्माणले समेत गति लिँदै गएको नगरपालिकाले जनाएको छ । वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ । पिकनिक खान आउने एउटा समूहसँग तीन सय रुपियाँ सेवा शुल्क लिई सेवा उपलब्ध गराउँदै आएको पनि नगरपालिकाले जनाएको छ । 

त्यस्तै सिन्धुली जिल्लाको प्रसिद्ध धार्मिक स्थल माईस्थानमा पनि हिउँद मौसमसँगै  वनभोज खान आउनेको चाप बढ्दै गएको छ । बीपी राजमार्ग निर्माणसँगै यातायात सुविधा पुगेपछि तराईका जिल्लाबाट समेत माईस्थानमा वनभोज खान आउने बढ्दै गएका स्थानीयवासी विजय श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक १०/१२ टोली पिकनिक खान नआएको दिन हँुदैन । कहिले त पिकनिक खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन् ।” कमला नदी र गौमती नदीको दोभानमा रहेको कमलामाई मन्दिरमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिन ठूलो मेला लाग्दै आएको जानकारी उहाँले दिनुभयो । 

भक्तजनले कमलामाई मन्दिर दर्शनसँगै पाठी ल्याएर बलि दिने र कतिपय पिकनिक खाएर रमाइलो गरी फर्किने गरेका छन् । यातायातको सुविधा भएको र पवित्र धार्किक स्थल भएकाले पछिल्लो समय तराईका जिल्लाका मानिसको रोजाइमा समेत माईस्थान परेको छ । उक्त मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले भक्तजनको आस्था बढेको हो । कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो रहेको स्थानीयवासी बताउँछन् ।