• ११ असोज २०८१, शुक्रबार

ऐतिहासिक अमरनारायण मन्दिर जीर्णोद्धार कार्य सुरु

blog

रेखीराम राना

पाल्पा, मंसिर २१ गते । पाल्पाको २१६ वर्ष पुरानो ऐतिहासिक अमरनारायण मन्दिरको जीर्णोद्वारको कार्य सुरु भएको छ । जीर्ण मन्दिरको दोस्रो तल्लाको छानो खसेको सात महिनापछि जीर्णोद्वारको काम सुरु भएको हो ।  

तानसेन नगरपालिकाको एक करोड पाँच लाख २९ हजार रुपियाँ लागतमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको तानसेन–२, का वडा अध्यक्ष महेश्वर श्रेष्ठले जानकारी दिनुभयो । जीर्णोद्धार कार्यमा मन्दिरको छानो छाउने, मन्दिर वरपर ढुङ्गा छाप्ने र पिलरको छाना छाउने काम गरिने उहाँले बताउनुभयो । गत २०७८ फागुन २५ गते पानी परेको अवस्थामा जीर्ण मन्दिरको दोस्रो तल्लाको छानो एक्कासि खसेको थियो । 

मर्मत तथा जीर्णोद्धार कार्य आगामी २०८१ असार ३२ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । मन्दिरको ऐतिहासिक संरचना नबिग्रने गरी जीर्णोद्धारको कार्य गरिने तानसेन नगरपालिकाले जनाएको छ ।  यस क्षेत्रमै ऐतिहासिक एवं पुरानो गहनाको रूपमा अमरनारायण मन्दिर वि.स. १८६३ सालमा राष्ट्रिय विभूति अमरसिंह थापाले बनाउन लगाएका थिए ।

त्यसपछि विभिन्न समयमा बाहिरी संरचनाको रङ्गरोगनमा ध्यान दिइएपनि मन्दिरको भित्री संरचना मर्मतमा भने ध्यान नदिँदा छानो खसेको स्थानीय बासिन्दाले बताएका छन् । नेपालको उपत्यका काठमाडौँसहित भक्तपुरका विभिन्न मन्दिरहरूमा जस्तै आकृति नारायण मन्दिरको टुँडालमा कोरिएको छ ।