• ५ जेठ २०८१, शनिबार

नेप्से परिसूचक २४.४६ अङ्कले गिरावट

blog

काठमाडौं, मङ्सिर १९ गते । निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४६ अङ्क घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१९ अङ्क, फ्लोट इण्डेक्स १.३८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अङ्क घटेको छ ।

कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । आइतबार एक अर्ब ५६ करोड रुपियाँको कारोबार भएकोमा आज एक अर्ब ६७ करोडको कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज सयपत्री हाइड्रोपावरको शेयर मूल्य ३.१२ प्रतिशत बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ ।