• १२ असोज २०८१, शनिबार

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

blog

काठमाडौं, मङ्सिर १९ गते । सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।

बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।

यस्तै, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएइकाे छ ।