• १२ असोज २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

blog

काठमाडौँ, मङ्सिर १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात/अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तरघातको गहन समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँचवर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने महराले धारणा राख्नुभयो । 

दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाट समेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रेसको जीवनमा लोकतान्त्रिक बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठुलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पुरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ, नेता महरले भन्नुभयो । सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताउनुभयो।

जनताको आजको चाहना भ्रष्टाचार मुक्त मुलुक हो। स्वदेशमै रोजगारीको प्रत्याभूति हुनुपर्‍यो भन्ने हो। कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन्। त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ। त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ, उहाँले भन्नुभयो । 

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिसामा अघि बढ्नुपर्ने महरले औँल्याउनु भयो। 

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या, स्वदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकाङ्क्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महराको जोड् छ।