• १२ असोज २०८१, शनिबार

‘जापानबाट नेपालले सिक्नुपर्छ’

blog

काठमाडौँ, मङ्सिर १८ गते । जापानको राजनीति, विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । जापानी विश्वविद्यालय अलुमुनाइ एसोसिएसन नेपालले शनिबार आयोजना गरेको जापानको विगत, वर्तमान र भविष्य विषयक गोष्ठीमा बोल्दै धेरै विषयमा नेपाल–जापानबीच समानता भए पनि नेपालले विकास पथमा अघि बढ्न नसक्नुका कारणको खोजी गर्नुपर्नेमा उहाँहरूको जोड थियो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको लोकतन्त्र संस्थागत गर्न लामो समयदेखि सघाउ पु-याउँदै आएको जापानको तुलनामा नेपालले आशातित विकास गर्न नसकेको औँल्याउनुभयो । उहाँले आर्थिक, शिक्षा तथा विकास–निर्माणमा जापानले सहयोग गर्दै आएको भन्दै सराहना गर्नुभयो । 

नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल–जापानको लामो समयदेखिको जनसम्बन्ध सबैभन्दा बलियो सम्बन्ध भएको बताउनुभयो । उहाँले आधुनिक नेपाल र जापानका मानिस र सामाजिक संस्कारबीच धेरै समानता रहेकाले पनि काम गर्न सहजता भएको प्रस्ट्याउनुभयो ।

सहजकर्ताका रूपमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईले नेपाल–जापानबीच आर्थिक विकास र द्विपक्षीय सम्बन्धको यात्रा उतारचढाव नभई सुन्दर ढङ्गले अघि बढेकाले आगामी दिनमा सहकार्यका विविध आयाममा त्यहाँबाट सिकेर आएकाले काम गर्न सक्ने औँल्याउनुभयो ।  

कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. खड्ग केसीले दोस्रो विश्वयुद्धमा ध्वस्त भएको अर्थतन्त्रलाई त्यसपछि पनि उकास्दै जापान अघि बढेको उल्लेख गर्दै केही सुधार जापानले गर्नु परे पनि नेपालले देश बन्यो भने म पनि बन्छु भन्ने नारासहितको आर्थिक राष्ट्रवाद, उच्च नेतृत्व तहमा उच्चस्तरीय नागरिक उत्तरदायित्व, कामलाई प्राथमिकता दिनेजस्ता विषय जापानबाट सिकेर आर्थिक विकासको पथमा अघि बढ्न सक्ने बताउनुभयो । 

त्यस्तै डा. डमरुबल्लभ पौडेलले हालसम्म विश्वकै तेस्रो आर्थिक समृद्धि प्राप्त देश जापान भए पनि हालका दिनका जापानको आर्थिक स्तर कमजोर बन्दै गएको र भविष्यमा जापानभन्दा अघि भारत आर्थिक स्तरमा अगाडि आउन सक्ने सम्भावना औँल्याउनुभयो ।

डा. रसिला देसारले विगतमा वातावरणीय विनाशका कारण अनेकौँ रोगको सिकार जापानका नागरिक हुनु परेको दृष्टान्त प्रस्तुत गर्दै त्यसबाट पाठ सिकेर जापानले पछिल्लो समय वातावरणीय सुधार र न्यायका लागि वैश्विक रूपमै काम गर्न थालेकाले नेपालले पनि समयमै सोको अनुकरण गर्नुपर्ने सुझाव दिनुभयो ।