• १३ असोज २०८१, आइतबार

बदर मत बढ्यो

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १५ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा गुल्मीमा सात हजारभन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविकामार्फत मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको हो। 

निर्वाचन आयोगले स्थानीय तहलाई मतदाता शिक्षा प्रदान गर्ने जिम्मा दिएर झारा टारेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो। आगामी निर्वाचनमा आयोगले मतदाता शिक्षाको ‘मोडालिटी’लाई परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ। यता निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल पनि मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्नुहुन्छ। उहाँले बदर मत कम गर्नका लागि मतदाता शिक्षा प्रदान गरेको र सञ्चारमाध्यमबाट विज्ञापन गरेको बताउनुहुन्छ। बदर मत बढी हुनुमा राजनीतिक ‘इस्यु’ पनि मुख्य कारण भएको भनाइ उहाँको छ। 

आयोगले प्रदान गरेको मतदाता शिक्षा प्रभावकारी भएको भन्दै पर्याप्त नभएको भए आगामी दिनमा सुधार गर्ने उहाँको भनाइ छ। यहाँका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ सात हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

जसअनुसार क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ एक हजार ८२५ र प्रदेश सभातर्फ एक हजार ६५९ मत बदर भएको छ। क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ एक हजार ८९३ र प्रदेश सभातर्फ एक हजार ६८४ मत बदर भएका छन्।  निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार दुई लाख २३ हजार ६१५ मतदातामध्ये एक लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए। दलहरू गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुगेकाले धेरै सङ्ख्यामा मत बदर भएको जानकारहरू बताउँछन्। 

यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिनेजस्ता कमजोरीका कारण समस्या उत्पन्न भएको थियो। कालीगण्डकी गाउँपालिका–२, अर्बेनीको भगवती माध्यमिक विद्यालयको केन्द्रमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा प्रत्यक्षतर्फको ५५ वटा मतपत्रमा मतदान भएपछि पुनः मतदान गर्नुपरेको थियो। 

सात प्रतिशत मत बदर

परासी समाचारदाता गोपी ज्ञवालीका अनुसार यस पटकको सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा १६ हजारभन्दा बढी मत बदर भएको पाइएको छ। मतदाता शिक्षाका लागि निर्वाचन आयोगले लाखौँ रुपियाँ खर्च गरेको भए पनि बदर मतको स्थितिलाई हेर्दा मतदाता शिक्षामा गरिएको लगानी बालुवामा पानीजस्तै भएको नागरिक समाजका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताउनुभयो। 

दुई सङ्घीय निर्वाचन क्षेत्र र चारवटा प्रादेशिक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा यति धेरै मत बदर हुनुले मतदाता शिक्षाको प्रभावकारी कार्यान्वयनका विषयमा प्रश्न खडा भएको छ। बदर मतको प्रकृति हेर्दा मतदाताले सामान्य प्रकारको मतदानको पनि जानकारी नभएको पाइएको छ। 

एउटा मतदाताले एउटा मात्र चिह्नमा मतदान गर्नुपर्नेमा दुई वा दुईभन्दा बढीमा छाप लगाएको पाइएको छ। कतिपय मतपेटिकामा अनेकौँ चिह्नमा जथाभावी छाप लगाएको पनि पाइएको छ। 

यसैगरी कतिपय मतपत्र खाली पनि भेटिएका छन्। सबैभन्दा बढी समानुपातिक मतपत्र बदर भएको पाइएको छ। दुई वा दुईभन्दा बढी चिह्नमा मतदान गरेका छन्। कतिपयले मतपत्र औँठाको छाप लगाएको पाइएको छ। मतदातालाई पर्याप्त मतदाता शिक्षाको अभावका कारण यस्तो गल्ती गरेको हुनसक्ने नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य जनार्दन कुर्मीले बताउनुभयो। 

जिल्ला निर्वाचन कार्यालय नवलपरासीका अनुसार दुई लाख ८० हजार ६२१ खसेको मतमध्ये १६ हजार १०० मत बदर भएका छन् जुन करिब ७ प्रतिशत हुन आउँछ। मङ्सिर ४ गते भएको निर्वाचनमा प्रचारप्रसारको समय अवधि १७ दिन मात्र तोकेका कारण राजनीतिक पार्टीले मतदाता शिक्षामा धेरै समय दिन सकेनन्।