• १३ असोज २०८१, आइतबार

पालिकाको आन्दोलनले कामकाज ठप्प

blog

नगरपालिका र मातहतका कार्यलयबाट काम रोकेर आन्दोलनमा उत्रिएका कर्मचारी । तस्बिर : गोरखापत्र

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर १४ गते । दाङको लमही नगरपालिकामा लगातारको आन्दोलनले स्थानीय सरकारबाट गर्नुपर्ने काम ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीमाथि विभेद गरेको र खटनपटनमा पूर्वाग्रही गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले नगरपालिकाबाट दिइने सेवा सुविधा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारी आन्दोलनका कारण सेवाग्राहीला आवश्यक पर्ने सिफारिस, योजना सम्झौता, राजस्व भुक्तानीलगायतका महत्वपूर्ण काम हुन सकेको छैन । सेवाग्राहीले नगरपालिकालाई अनिर्णयको बन्दी वनाउनुको साटो यथाशक्य छिटो बार्ताबाट समाधान खोज्न सम्बन्धित सबैलाई आग्रह गर्न थालेका छन् ।

लमही नगरपालिका र मातहतका कार्यालयमा कार्यरत अधिकांश कर्मचारीले आन्दोलन गरेपछि कर्मचारीको आन्दोलन प्रति एक्यवद्धता पनि बढ्न थालेको छ । कर्मचारीले थालेको आन्दोलनलाई लमही नगरपालिकाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्यबद्धता जनाएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश समितिका सदस्य नारायण छम्पालीले राष्ट्रसेवक कर्मचारीको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको उल्लेख गर्नुभयो । एउटा कार्यालय प्रमुखका कारण स्थानीय सरकारलाई अनिर्णयको बन्दी बनाउन नहुने तर्क उहाँको छ  । 

यस्तै गरी कर्मचारीले थालेको आन्दोलनप्रति लमही नगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले समर्थन जनाएका छन् । प्रमुख प्रशासकीय अधिकत गेहेन्द्रबहादुर डाँगीबाट कर्मचारीलाई विभेद गर्दै मनोमानी गर्ने र जनप्रतिनिधिलाई बेवास्ता गर्ने गरेको आरोप कार्यपालिका सदस्यकोे छ । 

यस्तै कार्यपालिका सदस्यहरुले नरपालिका प्रमुख र उपप्रमुखको आदेशमा प्रमुख प्रशाकिय अधिकृतले मनपरी गर्ने गरेको आरोप लगाएका छन् । लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले कर्मचारी खटनपटनको विषयलाई अनावश्यक राजनीति गरिएको बताउनुहुन्छ । 

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले आन्दोलनरत कर्मचारीलाई आन्दोलन रोकेर वार्तामा आउन र समस्या समाधानको दिशामा लाग्न आग्रह गर्नुभयो । कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउँदै आएका छन् ।